काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।
राजधानीका केही क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ।
काठमाडौँको नयाँबानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)मा १७ वर्षपछि स्ववियु निर्वाचन भएको छ।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए।
सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ। आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ।
नयाँबानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)मा समाजवादीले मोर्चामा आवद्ध दलनिकटका विद्यार्थी संयुक्त रूपमा चुनावमा होमिएका छन्।
संघीय सत्तामा रहेका दुई दल कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियु एकल प्रतिस्पर्धामा छन्।


