काठमाडौँ- छायांकन नहुँदैबाट चर्चा भएको चलचित्र हो, ‘बलिदान’। एक मिनेटको टिजर बनाउन ३० लाख खर्च गरेको यो टिमले फिल्मको छायांकन सक्दासम्म १२ करोड हाराहारी खर्चिएको छ।
थप २ करोड बिना फिल्म हलमा जाने सम्भावना छैन। यो कुरा हामीले भनेको होइन, उनीहरू आसपासका व्यक्तिले फिल्म बजारमा हल्ला गर्दै हिँडेका छन्। बजारकै कुरा सापट लिने हो भने यो फिल्म भारतको राम्रै ओटीटी प्लेटफर्ममा बेच्ने तयारी गरिएको छ। तर, टिमले देखेको सपना जस्तो सहज चाहिँ छैन बलिउड यात्रा।
निर्देशक सन्तोष सेनले अघिल्लो प्रोजेक्ट ‘प्रेमगीत ३’ लाई बलिउडमा प्रदर्शन गर्दा नै बलिउडका हलमा फिल्म पुराउँदा कतिसम्म संघर्ष र चप्पल फटाल्नुपर्छ भन्ने कुराको ज्ञान लिइसकेका छन्। त्यसैले यो पटक उनले केही बढी तयारी गर्लान्। तर, उनी यसपटक निर्माण भन्दा पनि निर्देशनमा मात्रै ध्यान दिएका छन्।
प्रेमगीत-३ भन्दा अघि कुनै पनि चलचित्र यसरी हिन्दी भाषामा बनाइएको तथा भारत र अन्य देशमा लागेको देखिन्न। यसपटक बन्दै गरेको ‘बलिदान’ को बलिउड यात्रा कस्तो होला, त्यो हेर्न आगामी दशैंका फुलपाती कुर्नुपर्छ।
कतिपयले फिल्ममा टन्नै भिएफएक्सका काम रहेको र साउन्ड डिजाइनिङमा खुबै मिहेनत गर्नुपर्ने भएकाले फेरि घोषणा गरेको समयमा फिल्म लाग्छ भन्ने विषयमा शंका गरेका छन्। तर, यसका कार्यकारी निर्माता प्रेम पुरीले भने घोषित मितिमै फिल्म लाग्ने बताए। उनले भने, ‘पहिले त समयमै छायांकनमा जान नसक्दा तोकिएको मितिमा फिल्म लगाउन नसकिएको हो। तर, अहिले छायांकन सबै सकिएको छ। फिल्म भनेकै मितिमा प्रदर्शन हुन्छ –ढुक्क भए हुन्छ।’ फिल्मलाई दर्शकले मन पराउनेमा आफ्नो टिम ढुक्क रहेको उनको भनाइ छ।
‘हामीले यसपटक जुन किसिमको मिहेनत गरेका छौं, भविष्यमा हामीले अर्को प्रोजेक्टमा पनि गर्न सक्दैनौं। यति मात्रै हैन, अर्को व्यक्तिले यसरी काम गर्न पनि सक्छ जस्तो लाग्दैन,’ प्रफुल्लित मुद्रामा निर्माता पुरीले भने।
चार महिना छायांकनमा समय दिएर अहिले पोस्टप्रोडक्सनमा व्यस्त बलिदान टिमले वनलाइन सम्पादन मात्रै काठमाडौँमा गरेर हार्डडिक्समा फाइल बोकेर बलिउडको राजधानी मुम्बई छिर्ने योजना गराइरहेको छ। यसपटक नेटफिल्क्स, जिफाइभ अथवा यस्तै राम्रो एउटा प्लेटफर्ममा डिजिटल राइट्सका लागि पक्का गरिसकेपछि मात्रै अन्य योजना गराइने निर्माण टिमको तयारी छ। आर्थिक रुपमा अस्वभाविक खर्च गरेको टिमलाई यो लगानी रिटर्न गर्न कम्तीमा नेपालका हलबाट मात्रै ५० करोडको कारोबार हुनुपर्छ। सोही कारण पनि टिमले पोस्टप्रोडक्सनको काम गर्दै आम्दानीको स्रोत पनि सुनिश्चित गर्दै अघि बढ्ने योजना गराएको हुन सक्छ।
फिल्मको विषयमा विभिन्न राय र गतिविधि सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएपनि निर्देशक सन्तोष सेनले भने बलिदानको बलिउड यात्राको विषयमा केही बोल्न चाहेनन्। उनले भने, ‘हामी पोस्टप्रोडक्सनको काममा छौं। अहिले काममै छौं, सबै सकियोस् अनि बोलौंला।’
सम्झौताका हिसाबले बलिदान अहिलेका एक्सन स्टार समीर भट्टको डेब्यु फिल्म हो। तर, यो फिल्म २०८१ को दशैंमा नआएपछि समिरका ‘बा’ विराज भट्टले होम प्रोडक्सनमार्फत ‘१२ गाउँ’ बनाएर समिरलाई फिल्म उद्योगमा भित्र्याए। १२ गाउँ चल्नुअगाडि बलिदानको टिजर फालिएको थियो, त्यसले समीर भट्टको हाइप राम्रै थियो। भन्नेले त सोही टिजरको बलमा १२ गाउँ चलेको समेत भन्ने गरेका छन्। जे होस्, कहिल्यै सामाजिक सञ्जाल नचलाई, हल्ला समेत नगरी समिर पहिलो फिल्मबाटै एकाएक जुन किसिमको स्टार बने त्यो भाग्यमानी कलाकारले मात्रै पाउने सफलता हो। फिल्मको विषयमा अहिलेसम्म समिरले सार्वजनिक रुपमा बोलेका छैनन्। तर, यस फिल्मको फुटेज हेर्दा आफू निकै खुसी बनेको भन्दै खुसी साट्दै हिँडेका छन् रे।
पूर्ण एक्सन जनरामा निर्माण भएको फिल्मको कथा मधेस केन्द्रित रहेको यसअघि सार्वजनिक पोस्टर र टिजरले संकेत गरेका छन्। तर, टिमले छिट्टै अर्को टिजर सार्वजनिक गर्ने योजना बनाएको बुझिएको छ। आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता पवन विष्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्। फिल्ममा समिर भट्ट बाहेक सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारहरुको अभिनय छ। यस फिल्ममा साउढ इण्डियन फिल्मका प्राविधिकले काम गरेका कारण पनि केही बढी चर्चा चलेको हो।


