काठमाडौँ- करिब चार सय वर्षको इतिहास बोकेको सुन्धारा अहिले खण्डहर बनेको छ।
धरहरा पुनर्निर्माण काम गरेको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुन्धारा पुनर्निर्माण काम पाएको भए पनि परम्परागत संरचना धमाधम भत्काउन थालेपछि स्थानीय अभियन्ता र बासिन्दाहरूले विरोध गरेका थिए।
सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने र नेपाली मौलिक कला-संस्कृतिको नमुनाका रूपमा सुन्धारा रहेकाले यसको संरचना जोगाउनुपर्ने स्थानीयको माग रहेको छ।
सो निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठुलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण सुरु गरेको भए पनि सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढङ्गले सुन्धारामा पानी खसाल्न नदिने भन्दै विरोध भइरहेको थियो।
२०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो। पर्खाल र भुईँमा बिछ्याएका ढुङ्गा भूकम्पले चर्किएका थिए। त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए।
तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्ने गरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो। सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ।
उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौँको सुन्धारा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यहाँ एकै ठाउँमा पाँच वटा सुनका धारा थिए। तर, अहिले तीन वटा मात्रै सुनका धारा छन्। करिब २० वर्षअघि चोरिएका दुई वटा सुन्धारा अझै भेटिएका छैनन्।


