काठमाडौँ– काभा महिला भलिबल च्यालेन्ज कपका पछिल्ला दुई खेलमा आयोजक नेपाल र भारतले कुनै सेटमा पनि हार व्यहोरेका छैनन्। यी दुई टिमले समूह ए को किर्गिस्तान र बंगलादेशलाई सहजै हराएका छन्।
बुधबार त्रिपुरेश्वरको कभर्डहलमा भिड्दै छन् यिनै अपराजित टोली भारत र नेपाल। चार वर्षअघि नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुदमा नेपालले अन्तिम पटक यही कोर्टमा भारतसँग खेलेको थियो। त्यसबेला नेपालले सुरुआतमै दुई सेट जितेको सो खेल पाँचौ सेटमा पुगेर भारतले जित निकालेको थियो।
‘अब हामी त्यो हारको बदला लिने गरी खेल्नेछौं,’ नेपाली टिमकी कप्तान अरुणा शाहीले भनेकी छन्। भलिबल कोर्टमा भारतसँग भिड्नु सहज छैन। भारतको स्पकाइक राम्रो छ। यता नेपाल ब्लकमा कमजोर छ। खेलाडीको उचाईलगायत शारीरिक अवस्थाले पनि नेपालभन्दा भारतलाई साथ दिएको छ।
यसैकारण नेपालले पहिलेबाटै डिफेन्समा ध्यान दिएको हो। र, आज पनि नेपालले डिफेन्स बलियो बनाउने र अंक खोस्ने योजना रहेको छ। त्यसमाथि नेपाली टिमकी सबैभन्दा उत्कृष्ट स्पाइकर प्रतिभा माली चोटका कारण टिममा छैनन्। त्यस्तै, सरस्वती चौधरी पनि पुरा फिट छैनन्।
‘अहिले सरस्वती पुरा फिट नहुँदा र प्रतिभा नहुँदा पनि खास असर छैन। पहिले टिम नै दुई जनामा फोकस भएर खेलिरहेको थियो। अहिले भने नेपाली टिमको सबै बराबरी रहेको कारण सबैले एक अर्कालाई विश्वास गरेर खेलिरहेका छन्। यसले सहयोग गर्छ भन्ने लागेको छ,’ कप्तान अरुणाले भनेकी छन्।
यता नेपाली टिमका मुख्य प्रशिक्षक जोन डी ब्रान्टले आफूले आजसम्म भातरसँग हार नबेहोरेको बताउँँछन्। उनी आजको खेलमा पनि जित निकाल्दै अघि जाने सोच बनाएका छन्। तर, समूह चरणका दुई खेल जितेकाले आजको जित वा हारले सेमी-फाइनल पुग्ने कुरालाई असर गर्दैन।
बुधबारको खेलमा नेपालले जित निकाल्न सके फाइनल यात्रा धेरै सजिलो हुनेछ। ‘शारीरिक रुपमा बलियो टिम भारतसँग खेल्दा राम्रो खेल्नुपर्छ। स्मार्ट खेल्ने, ट्याक्टिकल्ली राम्रो खेल्ने गर्यो भने हामीलाई अवसर हुनेछ,’ ब्रान्टले भनेका छन्।
यता गएको मंगलबारको खेलमा नेपालले राम्रो स्तरको खेल प्रदर्शन गर्न सकेन। उसले धेरै गल्ती गरिरह्यो। स्पाइकमा, पोजिसनमा, थ्रोमा राम्रो मुभमेन्ट देखिएन। तर भारतविरुद्ध खेल्दा त्यस्तो गल्ती गर्ने छुट नभएको प्रशिक्षक बताउँछन्।
‘भारतसँग त्यसरी खेल्ने छुट छैन्। त्यस्तो गल्तीले हामीलाइृ हारतिर लैजानेछ,’ प्रशिक्षकले भनेका छन्, ‘मैले कहिले पनि भारतसँग हारेको छैन। तर त्यो हिजोको कुरा विगतमा सकिसक्यो। मैले हारेँ भने त्यो पहिलो पटक हुनेछ। तर पछिल्लो पटक भारतले केही परिवर्तन गरेको छ। तर कुरा के हो भने यो जीवन वा मृत्युको खेल होइन। जस्ट एउटा खेल मात्र हो। अनि मलाई सँधै जित्न मनपर्छ।’
भारतलाई हाउनै लागि मैदानमा उत्रने अरुणाले पनि बताएकी छन्। नेपालले घरेलु समर्थकको साथ पाएपछि सुरुबाटै लिड गर्न सक्यो भने राम्रो हुने प्रशिक्षकले बताएका छन्।
‘सुरुबाटै दबाब बनाउन सक्यौँ भने र एक,एक अंक लिन सक्यौँ भने जित सम्भव छ। तर यसरी सजिलै हामी फाइनल मापुग्न सक्ने छैनौँ। धेरै दबाबले मात्र त्यो हुनेछ। हामीले राम्रो प्रदर्शन गर्नु पर्नेछ,’ प्रशिक्षक भन्छन्।
नेपाल समूह विजेता भएको अवस्थामा अर्को समूहमा उपविजेतासँग खेल्ने अवसर रहनेछ। त्यसैले पनि आजको जित नेपालको अघिको लागि राम्रो हो।
‘मेरो साढे दुई महिनाको बसाईमा मैले राम्रा खेलाडी देखेँ। सबैलाई चिनेको छु। मलाई थाहा छ ककसले के के गर्न सक्छन्। हामीसँगअझै तीन खेल रहेको छ,’ प्रशिक्षक भन्छन्, ‘त्यही अनुसार रणनीति तय हुनेछ।’


