काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शुक्रबार काठमाडौँ महानगरका विभिन्न स्थानमा फोहोरमैला र तोडफोड गरेको भन्दै जरिमाना गर्ने निर्णय गरेको छ। तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई झन्डै ८ लाख जरिमाना गर्ने निर्णय महानगरले गरेको हो।
प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो। ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेका हुन्।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। बिहीबार प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए। त्यसलगत्तै उनलाई राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमाण्डर तोकिएको थियो।
प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।
आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए।
तीनकुने क्षेत्रमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्याएकोमा राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरिवाना तिरेका थिए।
त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले) लाई पनि एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।


