रामपुर (पाल्पा)- गाउँमा शीतभण्डारको अभावले आलु भण्डारण गर्न समस्या झेल्दै आएका किसानलाई अब भने आफ्नै ठाउँमै सुविधा भएको छ। रामपुर नगरपालिका–२ भलायटारमा निर्माण भएको शीतभण्डार प्रयोगमा आएपछि किसानहरूले सहज रूपमा आलु भण्डारण गर्न थालेका छन्।
पहिले आलु सुरक्षित राख्न भैरहवा लैजानुपर्ने बाध्यता रहेको रामपुरका खेमराज रानाले अब भने गाउँमै शीतभण्डार भएपछि सहज भएको बताएका छन्। उनले माथिल्लो कृषक तरकारी समूहमार्फत ५० बोरा आलु भण्डारण गरिसकेको बताए। रामपुर नगरपालिकाले किसानलाई आलु भण्डारण गर्न आह्वान गरेपछि सोमबारदेखि शीतभण्डार प्रयोगमा ल्याइएको हो।
रामपुर–६ का ७४ वर्षीय किसान लेखनाथ पोखरेलका अनुसार आफ्नै ठाउँमा शीतभण्डार हुँदा आलु सुरक्षित राख्न सकिने भएकाले किसानहरू ढुक्क भएका छन्। उनले यस वर्ष १५ बोरा बीउ तथा खायन आलु भण्डारण गर्ने तयारी गरिरहेको बताए। “पहिले थोरै मात्र आलु उत्पादन गर्ने किसानलाई भैरहवा वा पोखरा पुर्याएर भण्डारण गर्न गाह्रो हुन्थ्यो। अब भने गाउँमै सुरक्षित रूपमा राख्न पाउने भएपछि सजिलो भएको छ,” पोखरेलले भने।
रामपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख दोवराज तिवारीका अनुसार रामपुरका किसान मात्र नभई स्याङ्जाको चापाकोट नगरपालिकाबाट पनि १,५०० बोरा आलु भण्डारण गरिने तयारी भइरहेको छ। आलुको उचित व्यवस्थापन गर्नका लागि एक जना दैनिक हेरालु राखिने नगरप्रमुख तिवारीले बताए।
यसपटक शीतभण्डारमा ३,५०० देखि ४,००० बोरा आलु राख्ने अनुमान गरिएको छ। भण्डारणका लागि धेरै ठाउँबाट सम्पर्क भइरहेको भन्दै नगरपालिकाले स्थानिय किसानलाई प्राथमिकता दिएको छ। यहाँ भण्डारण गरिएका आलु सुरक्षित रूपमा राख्ने जिम्मेवारी पनि नगरपालिकाकै रहेको छ।
रामपुर नगरपालिका कृषि शाखाका कर्मचारी युवराज नेपालीका अनुसार किसानसँग प्रतिकिलो रु. ६ को दरले भण्डारण शुल्क लिइएको छ। गत वर्ष ३,३७० बोरा आलु भण्डारण गरिएको थियो।
रामपुरको शीतभण्डारमा तीनपटक आलु भण्डारण भइसकेको छ। पहिलो वर्ष परीक्षणका रूपमा राखिएको केही आलु उम्रिएपछि मर्मतसम्भार गरिएको थियो। दोस्रो र तेस्रो वर्ष राम्रो भण्डारण भएपछि किसानहरूले बाहिरका शीतभण्डारमा लैजान छाडेका छन्। अहिले भण्डारण गरिएको खायन आलु भदौ–असोजमा निकाल्ने र बीउ प्रयोजनका लागि राखिएको आलु कात्तिकमा सार्वजनिक सूचना प्रकाशन गरेर वितरण गरिने बताइएको छ।
कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गर्न तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याइएको हो। रामपुर क्षेत्रमा आलु धेरै उत्पादन हुने भएकाले किसानलाई ठूलो राहत मिलेको नगरप्रमुख रमणबहादुर थापाले बताए।
रामपुर नगरपालिका शीतभण्डार पहिलो वर्ष बोलपत्रमार्फत सञ्चालन गरिएको थियो। दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीमार्फत सञ्चालन भएको शीतभण्डार अहिले नगरपालिकाले आफ्नै व्यवस्थापनमा सञ्चालन गरिरहेको छ।
विसं २०७८ वैशाखमा निर्माण सम्पन्न भएको यो शीतभण्डार पाल्पाको सबैभन्दा ठूलो मानिन्छ। लुम्बिनी प्रदेश सरकारको सशर्त अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले रु. ३ करोड २६ लाख ७६ हजार ५६६ मा ठेक्का सम्झौता गरी निर्माण गरेको हो। यहाँ फरक क्षमताका पाँचवटा कोठामा भण्डारण गर्न मिल्नेछ।
