काठमाडौँ- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले काठमाडौंमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।
रत्नपार्कमा भेला भएका प्रदर्शनकारीहरू जुलुससहित राष्ट्रपति कार्यालय शीतलनिवास नजिकै पुगेका थिए। उनीहरूले आर्थिक शोषण, धोका तथा सम्पत्तिको दोहनमा परेका पीडितहरूको न्यायका लागि सरकारको ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण धर्ना दिएका हुन्।
प्रदर्शनमा सहभागीहरूले शोषणकारी ऋण प्रणालीका कारण घरजग्गा गुमाउन परेको र मिटरब्याज (सुदखोरी)को चक्रव्यूहमा फसेका सर्वसाधारण नागरिक लामो समयदेखि न्यायको खोजीमा छन्। तर सरकार गम्भीर नभएकाले दबाबस्वरूप यो आन्दोलनको घोषणा गरिएको उनीहरूको भनाइ छ।
अभियानका प्रतिनिधिहरूले पीडितको पक्षमा स्पष्ट नीति नल्याएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूसँग तत्काल वार्ता गरी समस्या समाधानको पहल गर्न माग गरेका छन्।


