काठमाडौँ- नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पराजित गर्दै मिश्र अध्यक्ष बनेका हुन्।
निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाएका छन्। श्रेष्ठले २ हजार ६२१ मत पाएर उपविजेता बनेका छन्।
महासचिव पदमा वरिष्ठ अधिवक्ता केदार कोइराला महासचिव पदमा विजयी भएका छन्। कोइरालाले श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेलाई २ हजार ५०७ मतले पराजित गरेका छन्। कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले २ हजार ३६७ मत पाए। २५ पदका लागि भएको निर्वाचनमा सबै पदमा मिश्र नेतृत्वको प्यानलका उम्मेदवारले बाजी मारेका छन्।
अध्यक्षमा निर्वाचित भएका मिश्र नेपालको कानुन क्षेत्र, न्यायपालिका, तथा सामाजिक न्याय प्रवर्द्धनमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र त्रिभूवन विश्वविद्यालयमा कानुन विषयका अध्यापक हुन्। कानुनी सुधारमा महत्त्वपूर्ण सयम खर्चिएका प्राडा मिश्र निरन्तर मानव अधिकार, सामाजिक न्याय र विधिको शासनलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै कानुन व्यवसायी हुन्। नेपालमा न्याय सबैको पहुँचमा पुर्याउने, कानुन शिक्षालाई आधुनिक बनाउने र सुशासन प्रवर्द्धन गर्ने लक्ष्यसहित उनी नेपाल बार एसोसिएसनको नेतृत्वका लागि चुनावी मैदानमा होमिएका थिए।
त्रिभूवन विश्वविद्यालयबाट ‘नेपालमा कानुन पेशा : विगत र भविष्य’ शीर्षकमा २०७९ मा विद्यावारिधि गरेका मिश्र कानुन शिक्षालाई व्यावहारिक बनाउनुपर्ने भन्दै त्यसका लागि काम गर्दै आएका छन्। नयाँ पुस्ताका कानुन अभियन्ता तयार पार्न आफ्नो ज्ञान र अनुभव बाँड्दै आएका मिश्रले २०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट मास्टर अफ ल (एलएलएम) गरेका थिए।
तीन दशकभन्दा लामो समयदेखि कानुन व्यवसायीको रुपमा कार्य गरिरहेका डा.मिश्रले वरिष्ठ अधिवक्ताका रूपमा सर्वोच्च अदालतमा मुलुकको हित र सामाजिक न्यायका पक्षमा थुप्रै जटिल मुद्दाहरुमा बहस पैरवी गरेका छन्। विभिन्न कानुन आयोग तथा समितिहरूमा संलग्न रहँदै नेपालका कानुन नीति तथा संरचना सुधारका लागि उनले विशेष पहल गरेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा प्राध्यापकको रुपमा कार्यरत डा. मिश्रको शिक्षण क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ। अनुसन्धान तथा लेखनमा पनि उनको सक्रियता छ, जसअन्तर्गत कानुन विषयमा दर्जनौँ अनुसन्धानात्मक लेख र पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
न्यायलाई सम्पूर्ण नागरिकको मौलिक अधिकार मान्ने मिश्रले नेपालको न्याय प्रणालीलाई जनमुखी, पारदर्शी र प्रभावकारी बनाउन संघर्षरत छन्। कानुनी अधिकार र पहुँचबाट वञ्चित वर्गका लागि निःशुल्क कानुन सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएका मिश्र यसअघि नेपाल बार एसोसिएसनको महासचिवमा पदमा रहेर काम गरिसकेका छन्। उनले बारमा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला बारका अध्यक्षजस्ता जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन्।
अन्तर्राष्ट्रिय कानुन मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने र नेपालका सफल कानुनी अभ्यासका विषयहरुबारे जानकारी गराउने काममा पनि डा. मिश्रले विशेष भूमिका खेल्दै आएका छन्। कानुन प्रणालीको अध्ययन तथा अनुसन्धानका लागि अमेरिका, अस्ट्रेलिया, क्यानडा, जर्मनी, भारत, स्पेन लगायतका देशहरूमा सहभागिता जनाइसकेका छन्। नेपालका कानुन विषयमा उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा थुप्रै कार्यपत्र प्रस्तुत गरेका छन्। नेपालको न्याय प्रणालीका विषयमा अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्न उनका कार्यपत्रहरू महत्त्वपूर्ण मानिएका छन्।
न्यायिक क्षेत्रमा देखिएका भ्रष्टाचार, ढिलासुस्ती,र असमानताको अन्त्य गर्दै कानुन प्रक्रियालाई तीव्र, न्यायसंगत, र सबैको पहुँचमा ल्याउने प्रतिबद्धताका साथ उनी चुनावी मैदानमा होमिएका थिए। विगतदेखि अधिवक्ताहरुको हकहित र अधिकारको लागि पैरवी गरिरहेका मिश्रले आफ्नो घोषणापत्रका सबै काम क्रमश: गर्दै जाने र आफ्नो कार्यकालमा सबै काम पूरा गर्ने बताउँछन्।
अग्रज तथा सहकर्मी कानुन व्यवसायीहरूले मिश्रलाई इमान्दारिताका पर्याय मान्छन्। बारका चुनावी गतिविधिमा वरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीहरूले मिश्र जतिको इमान्दार नेतृत्व बारको इतिहासमा नै नभएको उल्लेख गर्दै मत मागेका थिए। उनको इमान्दारितालाई बारका मतदाता कानुन व्यवसायीले अनुमोदन गरेका छन्।
सुन्नुहोस् उहाँको टिमले चुनावअघि तयार पारेको भिडियो सामग्री


