काठमाडौं – देशमै पहिलो पटक स्थानीय तहबाट खगोल अध्ययन समिति स्थापना गरिएको छ। विराटनगर महानगरपालिकाले गएको जेठ ८ गते प्रविण कुमार विश्वासको अध्यक्षतामा ‘खगोल तथा अन्तरिक्ष विज्ञान अध्यन अनुसन्धान समिति’ गठन गरेको हो।
त्यसो त संघीय सरकार अन्तर्गत समग्र विज्ञान र अनुसन्धानका लागि यस्तो समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठन हुने गरेका छन्। प्रधानमन्त्री नै कुलपति रहने गरि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) सञ्चालन हुँदै आइरहेको छ। यसबाहेक नीजि क्षेत्रबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) पनि सञ्चालन भइरहेको छ। विश्वविद्यालयको पनि आफ्नै अध्ययन र अनुसन्धानका लागि व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकास्ट) स्थापना गरिएको छ। तर स्थानीय सरकारले भने यस्ता समिति गठन गरेको यो नै पहिलो पटक हो।
विराटनगरमा तीन दिन अघि स्थापना भएको समितिले दीर्घकालिन योजना बनाइ काम गर्न सक्षम हुने नासोका अध्यक्षक सुरेस भट्टराईको दाबी छ। ‘यस क्षेत्रमा लामो समयको नेपाल एष्ट्रोनोमिकल सोसाइटीको दीर्घकालीन सोच सहितको लगानी पहिलो चरणमा सार्थक भएको महसुस गरेको छु,’ उनले नयाँ समितिलाई शुभकामना दिँदै लेखेका छन्।
विराटनगरले यसअघि पनि अन्तरिक्ष र खगोलका विभिन्न गतिविधिलाई सहयोग गर्दै आइसकेको छ। विराटनगरको नगर बाल क्लबले मंगल र वृहस्पति ग्रहबीचरहेको क्षुद्रहग्र पत्ता लगाएपछि स्थानीय सरकारले सो समितिलाई टेलिस्कोप किनिदिएको थियो। उक्त टेलिस्कोप अहिले सर्वसाधारणका लागि पनि खुला गरिएको छ।
त्यसपछि खगोल गतिविधि बढ्दै जाँदा समिति निर्माण गरेर अध्ययन र अनुसान्धानको अवस्थासम्म आइपुगेको हो। ‘महानगरको नगर बालक्लब सञ्जालका पदाधिकारी तथा पूर्व सदस्यहरूद्वारा खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा हात पारेको सफलता तथा महानगर भरिका विद्यार्थीहरूको रुचिलाई मध्यनजर गर्दै यस विषयको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका निम्ति विराटनगर महानगरपालिकाले समिति गठन गरेको हो,’ बाल क्लबका पूर्व सदस्या ओसन शर्मा कट्टेल भन्छन्।

उनकै समूहले पत्ता लगाएको त्यो क्षुद्रग्रह लाई विराटनगर नाम दिने ओसनले बताएका छन्। त्यसपछि विराटनगरले यस क्षेत्रमा सक्रियता देखाएको हो। अहिले स्थापना भएको समितिले अल्पकालिन र दीर्घकालिन दुई योजना बनाएर काम अघि बढाउने समिति सदस्य ओशन शर्मा बताउँछन्।
ओसनका अनुसार यस्ता छन् समितिका अल्पकालिन योजना र दीर्घकालिन योजनाः
– सुरुमा यो समितिले आफ्नो कार्ययोजना बनाउने छ। सो कार्ययोजना बनाएर नगर परिषद्सम्म पठाउनु पर्छ। तीन वर्षसम्म यो समितिले विराटनगरका विद्यार्थी, शिक्षक र आम जनमानसमा खगोलबारे जनचेतना फैलाउने छ।
– खगोल अध्ययनबारे विद्यार्थी र इच्छुकलाई चाहिले टेलिस्कोपलगायत सामग्रीको व्यवस्थापनका लागि पहल गर्नेछ।
– यो समिति अहिले महिला, बालकालिका र समाजकल्याण शाखामा रहेको छ, यसलाई शिक्षासँग पनि जोड्ने प्रयास गर्ने योजना रहेको छ। कस्तो पनि योजन हो भने विद्यालयमा पढेका सिद्धान्तहरुलाई व्यवहारिक रुपमा प्रयोग गर्न यसले समन्वय गर्नेछ। रिसर्चको अवसर प्रदान गर्नेछ।
– स्कुल कलेजमा स्ट्रोनोमी क्लब र ग्रुपलाई नगरसँग सहकार्य गराएर जागरुक गराउनका लागि यो समितिले पहल गर्नेछ।
दीर्घकालिन
– महानगरलाई स्ट्रोनोमी(अन्तरिक्ष विज्ञान) हबको रुपमा स्थापना गर्दै अघि बढ्ने। अब्जरभेटरीहरु चाहीँ हिमालतिर राख्नुपर्छ, तर त्यसको डेटा सेन्टर भने हामी विराटनगरमा बनाउने योजना छ।
– विराटनगरमा काम गर्न सक्ने रिसर्च सेन्टर बनाउन सकिन्छ। विरटनगर पूर्वको एजुकेसन हब पनि हो, त्यस हिसाबले यहाँ प्लानेटोरियम, साइन्स पार्क जस्तो संरचना बनाउने योजना छ। यसले विद्यार्थीलाई अन्तरिक्षबारे सिक्नका लागि उत्साही बनाउँछ।


