काठमाडौँ- बुधबार विश्व दूरसञ्चार र सूचना समाज दिवस तथा विश्व उच्च रक्तचाप दिवस मनाइँदैछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व दूरसञ्चार र सूचना समाज दिवस र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व उच्च रक्तचाप दिवसका अवसरमा विभिन्न कार्यक्रम तय गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले विश्व दूरसञ्चार दिवसका अवसरमा दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तर्क्रियालगायतका कार्यक्रम गर्न लागेको जानकारी दिएका छन्।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले बिहान होटल राजधानीको र्याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ। दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ। ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ।
उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न निकाय र सङ्घसंस्थाले उच्च रक्तचापसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी उच्च रक्तचाप दिवस मनाउँदै आएका छन्।
हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो। बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। सन् २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ।
सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्। नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ। सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ।
