बैंक खातामा शंकास्पद कारोबार देखिएपछि प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी तथा विवादास्पद राजावादी अभियन्ता दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गर्ने भएको छ।
शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए।
प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ। प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुने घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
उनले होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरूपयोग गरेको आरोप लागेको हो। यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रसाईंलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन’ समितले चैत १४ गते ‘जनकमान्डर’ घोषणा गरेको थियो। भोलिपल्टै उनले तीनकुने क्षेत्रमा प्रदर्शन राखेका थिए। प्रदर्शन हिंसात्मक भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
तर उनी भारतको असम भागेका थिए। उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको हो।


