जनकपुर– मधेश प्रदेशको राजधानी जनकपुरबाट नेपाली कांग्रेसको रुपान्तरण अभियान सुरु भएको छ। पार्टीभित्र देखिएका कमीकमजोरी, विकृतिविसङ्गतिको अन्त्य गर्दै पार्टीमा आमूल परिवर्तन र रुपान्तरण गर्न सातै प्रदेश पुग्ने अभियान बिहीबार सुरु भएको हो।
अभियानअन्तर्गत बृहत भेला र अन्तर्क्रिया कार्यक्रम गरिने नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जानकारी दिए। अभियानले समग्रमा नेपाली कांग्रेस लाई बलियो, सशक्त र सुदृढ बनाउने र रुपान्तरणमा समेत उल्लेख्य सहयोग गर्ने विश्वास उनले व्यक्त गरे। पार्टीमा नयाँ आशाको सञ्चार गर्न कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने पार्टीका नेता रञ्जित कर्णले बताए।
पार्टीमा १४औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको एकलौटी बहुमत रहेको र नेतृत्वले चाहेअनुरुप गर्न सक्ने वातावरण हुँदा पनि पार्टीमा बेथितिको चाङ लागेको भन्दै उनीहरुले रुपान्तरण अभियान थालिएले नेता भूपेन्द्रजंग शाहीले बताए।
अभियानअन्तर्गत अनुसार जेठ १६ गते बागमती प्रदेशको काठमाडौंमा, जेठ २० गते गण्डकी प्रदेशको पोखरामा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका छ। जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने नेताहरुले जनाएका छन्।
यो अभियानमा कांग्रेस नेताहरू मधु आचार्य, चन्द्रमोहन यादव, गुरूराज घिमिरे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, राजेन्द्र अमात्य, जगदीश्वरनरसिंह केसीलगायत सक्रिय छन्। यस्तै जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायतले पनि बिहीबारको कार्यक्रममा सक्रिय रूपमा खटिएका थिए।
जनकपुर कार्यक्रममा नेताहरू नरेन्द्र नेम्वाङ, भुपेन्द्र थापा, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, गिता चौधरी, रुपा श्रेष्ठ, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवि हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, नन्द नेम्वाङलगायत उपस्थित थिए।



