काठमाडौं–सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ।
२० सदस्यीय जम्बो टोलीसहित चीन भ्रमणमा रहेको सापकोटा नेतृत्वको माओवादी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार राजधानी बेइजिङमा भेटवार्ता भएको हो।
सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको उपाध्यक्ष सापकोटाको निजी सचिवालयले जनाएको छ। भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो। भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताए।
जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदारसमेत भएको चर्चा गर्दै नेपालको आर्थिक, सामाजिक विकासमा पु¥याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए। उपाध्यक्ष सापकोटाले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले भनेको छ।
५ जेठमा २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको थियो। सुरुमा ल्हासा र मानसरोवर भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ।
भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल १८ जेठमा काठमाडौं फर्कने कार्यक्रम छ। चीन पुगेको भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिव हितमान शाक्य, गणेश साह र डिलाराम आचार्यलगायत सहभागी छन्।


