काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला एकता महाधिवेशनको संघारमा छ। एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले यो महाधिवेशन जसरी पनि सम्पन्न हुने बताएका छन्।
‘संघको वैशाख २० देखि २३ सम्म (मे ३–५) तोकिएको एकता महाधिवेशन कुनै पनि हालतमा काठमाडौंमा भइछाड्छ’ कोरियामा रहेर प्रतिवद्ध व्यवसायीको छबी बनाएका समिति सदस्य कुँवरले भने, ‘महाधिवेशनबारे कतिपयले भ्रामक कुराहरु गरेको पनि सुनियो, त्यस्तो हुँदैन। एकता महाधिवेशन हाम्रो जिम्मेवारी र कर्तव्य हो।’
सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गर्न लागिएको र सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले समेत पत्र लेखेर महाधिवेशन नरोक्न भनेको उल्लेख गर्दै कुँवरले तोकिएको मितिमा कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गरिने बताए।
एउटा पक्षको आग्रहमा परराष्ट्र मन्त्रालयले पत्र लेखेर महाधिवेशन गर्न सिफारिस गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएपनि त्यसविरुद्ध परेको रिटमा समेत अदालतले कागजात मगाउने आदेश मात्रै गरेको उल्लेख गर्दै कुँवरले एकता महाधिवेशन रोकिन्छ कि भनेर अलमलमा पर्न जरुरी नरहेको उनको तर्क छ।
एकताको महाधिवेशनमा विश्वभरबाट प्रतिनिधिहरू आउन थालिसकेको उल्लेख गर्दै उनले यो महाधिवेशनले पहिलो पटक भौतिक उपस्थितिमा खुला रूपमा नेतृत्व चयन गर्न लगिएको बताए।
एकता महाधिवेशनबाट नेतृत्वका आकांक्षी समेत रहेका उनले सर्वोच्चले गरेको फैसलाविपरीत महाधिवेशन सार्नु भनेको अदालतको मानहानि हुने भएकाले त्यसतर्फ कसैले सोच्न नहुने जिकिर गरे। भने, ‘सर्वोच्चले जे भनेको छ त्यही गर्ने हो, यही महाधिवेशनबाट नेतृत्व चयन गर्ने हो।’


