काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठूला दलहरु पटकपटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताएका हुन्।
उनले दलहरूबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे।
आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसँग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए।
सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोधमात्रै नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। अहिलेको व्यवस्थालाई सफल पार्न सबै मिलेर नै अघि बढ्नुपर्ने उनको भनाइ छ।
त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरि शिक्षकहरुको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे। उनले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरुले ध्यान दिनुपर्ने बताए।


