काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्दै ६ बुँदे घोषणापत्र जारी गरेको छ।
आइतबार काठमाडौंको हायात होटेलमा ६ बुँदे घोषणापत्र जारी गर्दै महाधिवेशन सकिएको घोषणा गरिएको हो। महाधिवेशनले विगतका तीता अनुभव बिर्सेर संस्थालाई एकजुट बनाउन नवगठित कार्यसमितिलाई अनुरोध गरेको छ। यस्तै विदेश बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्न, संविधानअनुसार गैरआवासीय नागरिकलाई नागरिकता दिने व्यवस्था, बेलायती सेनाबाट निवृत्त नेपाली नागरिकलाई बेलायतीसमान सुविधा,विदेशी जेलमा रहेका नेपालीको रिहा गर्न अपिल गर्दै महाधिवेशन समापन भएको घोषणा गरिएको हो।
समापन समारोहलाई माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। उनले एनआरएनहरुबाट नेपालले धेरै आशा गरेको बताएका थिए। आफू प्रधानमन्त्री हुँदा एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन हुन नसकेकोमा दुःख लागेको बताएका थिए।
पूर्व परराष्ट्रमन्त्री तथा पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले एनआरएनहरुसँग रहेको ज्ञान र सिप नेपालको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नु पर्ने बताए। उनले एनआरएनका मुद्दाहरुलाई सम्बोधन गर्न आफ्नो दल सधैं सकारात्मक रहेको पनि उल्लेख गरे।
कार्यक्रममा पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ताहरू आरके शर्मा, डा. केशव पौडेल, थर्क सेन, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, उच्चस्तरीय समितिका सदस्यहरु कुल आचार्य, विनोद कुँवर र रविना थापाले शुभकामना दिएका थिए।
नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई मुद्दामामिला फिर्ता लिन आग्रह गर्दै नयाँ कार्यसमितिले छुटेका साथीहरुलाई पनि समेट्न सक्दो प्रयास गर्ने जनाए।
कार्यक्रमको अध्यक्षता गरेका संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूहरुले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै विभिन्न बाधाव्यवधान खपेरै भए पनि तोकिएको समयभित्रै निर्वाचन गराएको जिकिर गरे। उनले नयाँ कार्यसमिति संस्थालाई एकजुट बनाएर अघि बढ्न सफल हुने विश्वास पनि व्यक्त गरे।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सपथ दिलाउँदै प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनले पारित गरेको ‘काठमाडौं घोषणा पत्र २०२५’ पढेर सुनाउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
गैर आवासीय नेपाली संघ एकताको महाधिवेशन काठमाडौँ घोषणापत्र २०२५
सम्मानित सर्वोच्च अदालतको परमादेशको पालना गर्दै नेपाल सरकारसँग समन्वय गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा मे ३-४, २०२५ मा काठमाडौँमा आयोजित एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। डेलिगेट्सहरुबीच व्यापक छलफल गरी यो महाधिवेशन निम्न घोषणा गर्दछ:
१. यो महाधिवेशन गैरआवासीय नेपालीहरु (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकता संबन्धि नेपालको संविधानले ब्यबस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी जतिसक्दो चाडो विद्यमान ऐनकानूनमा संशोधन गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछ।
२. यो महाधिवेशन विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने छिटोभन्दा छिटो ब्यबस्था गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्दछ।
३. यो महाधिवेशन मध्यपूर्व लगायतका मुलुकमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीका यावत् समस्या र त्यहाँ अज्ञानवस जेलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
४. यो महाधिवेशन ब्रिटिश सेनाबाट सेवानिवृत्त पूर्व गोरर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुलाइ पूरा गर्न कूटनैतिक पहल तीव्र पार्न नेपाल सरकारलाई आग्रह गर्दछ।
५. यो महाधिवेशन विगतका तीता मीठा अनुभवहरु बिर्सेर संस्थालाई एकजुट बनाउन एउटा समयबद्ध रोडम्याप तयार गरी अगाडी बढ्न नवगठित कार्यसमितिलाई अनुरोध गर्दछ।
६. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, नेपाल सरकारका प्रतिनिधि लगायत राजनीतिक दल तथा नेतृत्व वर्गप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसैगरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, निर्वाचन समिति, पर्यवेक्षक, संचारकर्मी तथा पत्रकारहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
मे ४, २०२५ ।


