काठमाडौँ- ए डिभिजन फुटबल क्लबहरूले सहिद स्मारक ए डिभिजन फुटबल लिग भद्रगोल भएको भन्दै विरोध गरेका छन्। ए डिभिजन खेलिरहेका ९ क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेरै लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा)को विरोध गरेका हुन्।
क्लबहरूले एन्फाले दिनुपर्ने रकम, खेलाडीको तलबसम्बन्धी व्यवस्था, उमेर समूहको खेलबारे गर्नैपर्ने काम नगरेको भन्दै विरोध जनाएका छन्। एन्फा कार्यसमितिका सदस्यहरू खेलाडी र खेलका विषयमा चासो राख्ने भन्दा पनि आफ्नो सेवासुविधा बढाउनमा मात्र केन्द्रित भएको समेत उनीहरूको आरोप छ। आफूहरूले एन्फालाई विभिन्न समयमा सजग गराए पनि आफूहरूले उठान गरेका विषयमा कुनै ध्यानाकर्षण नभएको समेत उनीहरूको गुनासो छ।
संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले एन्फाले तयारी खर्च पनि नदिएको गुनासो गरे। ‘हामीले यी विषयबारे दुई पटक ज्ञापनपत्र दिइसकेका छौं। त्यसपछि सात दिनमा दिन्छु भनेको तयारी रकम अहिलेसम्म दिएको छैन। हामीले इभिनिङ खेल बढाउनका लागि गरेको प्रस्ताव जेनेरेटरको तेल किन्नपर्छ भनेर गरेको छैन,’ तुलाधरले भने।
त्यस्तै, ए डिभिजनमा क्लबले फिफा र एफसीबाट आएको पैसाले लिग चलाउन खोजेको आरोप उनले लगाए। ‘पहिले कर्मा (छिरिङ शेर्पा) अध्यक्ष भएको बेला मेन स्पोन्सरबाट दुई करोड, अरु स्पोन्सर, ३५ लाख टिभी राइट र ६० लाख गेट कलेक्सनबाट आउने पैसा दिइएको थियो। अहिले पनि हामीले त्यही पैसा मागेको हो,’ तुलाधरले अगाडि भने, ‘फिफाको पैसाले कति दिन अनुदान लिएर लिग चलाउने हो? होइन नि!’
पत्रकार सम्मेलनमा मनाङ मर्स्याङदीका अध्यक्ष विजय घले, चर्च बोइजका अध्यक्ष रुविना राई, कपिल राना मगर (सातदोबाटो), कर्मा छिरिङ शेर्पा(हिमालन शेर्पा), नरेन्द्र श्रेष्ठ(एनआरटी उपाध्यक्ष), फ्रेन्ड्स, मछिन्द्र क्लबका पदाधिकारी उपस्थित थिए।
क्लबहरूलाई लिग सुरु हुनुभन्दा अघि स्पोन्सर ल्याइसकेको दाबी एन्फा पदाधिकारीले क्लबसमक्ष गरेका थिए। ‘हामीर्ला लिग सुरु भएको पाँच दिनपछि पनि स्पोन्सर आइसक्नै आँट्यो भनिएको थियो। तर उसले स्पोन्सर खोज्ने काम नै गरेको देखिएन,’ तुलाधरले भने, ‘ हामीलाई १३ चरण पछि म्याच मनि दिने भनिएको भए पनि दिएको छैन। यसअघि लिगहरु गराउँदा हरेक महिना १० गरि ३० बटा बल दिने गरेको हो। तर अहिले त्यसरी दिएको छैन। ब्यानरहरु च्यातिएको मकिएको देखिएको छ। हामीलाई केही पनि नदिने भएपछि गाह्रो भयो।’
के अब यसरी एन्फाले वेवास्ता गरेपछि क्लबले केही एक्सन लिन्छ त? जवाफमा तुलाधरले अहिले क्लब केही गर्न नसक्ने अवस्थामा रहेको बताएका छन्। ‘लिग रोक्ने कुरा भएन। त्यसो भयो भने त फुटबलकै लागि हानी हुन्छ। हामीलाई गाह्रो परेको छ। हामी यत्ति भन्न सक्छौं,’ उनले भने, ‘तर त्यसपछि त पैसा लिनै पर्ने हुन्छ। पैसा लिनको लागि के के गर्ने हो त्यसबारे छलफल गर्नेछौं।’
पछिल्लो समय नेपालले बजेट नभएपछि यू-२३ को टिम एसिया कप छनोटमा खेलाउन नसकेको भन्दै एन्फाको आलोचना भइरहेको छ। यस्तो आलोचना सामाजिक सञ्जालदेखि रंगशालासम्मै देखिइसकेको छ। तर एन्फाकै पूर्व महासचिव तुलाधरले अहिलेका एन्फाका पदाधिकारीले टिम दर्ता गर्नै हेलचेक्राई गरेको दाबी गरे।
‘पैसा नभएको अवस्था होइन। हामी एन्फामा हुँदा ५ लाख डलर र अहिलेको तीन लाख डलर आएर ८ लाख डलर एन्फासँग। पैसा नभएको भन्न मिल्दैन। उसले त इन्ट्री गर्न भुलेको हो,’ तुलाधरले एन्फाको गैरजिम्मेवारीबारे भने, ‘ पैसा नभएर खेल्दिन भनेको सत्य होइन, इन्ट्री गर्नको लागि बिर्सेको हो। केही पनि नगर्ने। महिला लिग पनि नगर्ने, बी सी पनि नगर्ने। लिग खेल्दा पैसा पनि नदिने एन्फाको अहिलेको कार्यसमितिको परिचय भएको छ।’
यी हुन् क्लबहरूले उठाएका विषय
१. तीन चरणमा गरी दिने भनिएको ३२ लाख ५० हजारमध्ये पहिलो किस्ताको १५ लाख आएको तर बाँकी रकम र म्याच बल नदिएको।
२. लिगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नसकेको, प्रायोजकको व्यवस्थापन गर्न नसकेको
३. म्यान मनी नदिएको
४. यू २३ टिमलाई दर्ता नै नगरेको, अहिले पैसा नभएको भनी झुट बोलेको
५. युवा र उमेर समूहको प्रतियोगिता आयोजना नगरेको, एकेडेमी बन्द हुने अवस्थामा पुगेका
६. एन्फा कार्यसमिति आफ्नो सेवा सुविधा बढाउनेमा व्यस्त भएको
७. फुटबल खेलका प्रसारण हेर्नबाट दर्शकलाई बञ्चित गरेका
८. दुई पटकसम्म सजग गराउँदा पनि व्यवस्थापनमा बेवास्ता गरेको
९. खेल तालिका खेलाडीको अनुकुलमा नराखेको
अहिले एएफसीबाट प्रतिनिधि नेपालमा आएका छन्। तर क्लबहरु र एन्फाका पूर्व अध्यक्षसमेत रहेका कर्मा छिरिङ शेर्पाले आफूलाई जानकारी नभएको बताए। ‘यो कुरा मिडियाबाट थाहा पाएको हो। साथीहरुलाई सोध्दा खेरी केन्द्रीय क्लबका साथीलाई बोलाएको छ अरे। हामीलाई आधिकारिक रुपमा जानकारी छैन,’ उनले भने।
उनीहरु किन आएका हुन् त? एन्फाका प्रवक्ता शुरेश शाह भन्छन्, ‘सुशानबारे फिफामा हाम्रो डेलिगेट गएको थियो। सुशासनको योजना थियो। के के कुरामा तालिमको अवश्यता छ भन्ने कुराबारे एन्फाको कुराको सुशासन बारे कामको लागि टिम आउनु भएको हो?’
एन्फामा अनुगमनको लागि प्रतिनिधि आएको हो भनेर गरिएको प्रश्नमा भने शाहले त्यस्तो नभएको बताएका छन्। ती प्रतिनिधि एन्फाको नियमन गर्न आएका हुन् त? सुरेशको जवाफ छ, ‘होइन, हाम्रो विभिन्न विभागको स्ट्रकचर कस्तो बनाउने भन्ने कुरामा हामीले सुरुमा एएफसीलाई प्रस्ताव गरेको हो। हाम्रो कर्मचारीको क्यापासिटी बढाउन र तालिम गराउने प्रस्ताव गरेका थियौँ। के के कुराको तालिम गराउने भन्ने विषयबारे जानकारी लिन उहाँहरु आउनु भएको हो।’
यता, स्पोन्सर खोज्न नसकेको भनेर आलोचना गरेका एन्फा पूर्वअध्यक्ष शेर्पाले भने, ‘अहिले क्रिकेटको तीन रंगाशाला बनाउने सरकारको तयारी छ। तर फुटबलको अभ्यास मैदान बनाउनेसमेत कुरा छैन। विदेश जान पदाधिकारी मारामार गर्नेबाहेक केही काम छैन।’
शेर्पाले अगाडि भने, ‘गैँडाको छाला भन्दा कडा पर्यो संघ।’
त्यस्तै, अहिले क्लबका लागि एन्फाले बिल नै बुझाउन नसक्ने गरी नियम बनाइदिएको कर्माको गुनासो छ। ‘क्लबको हिसाबकिताब त जिम्मेवार संस्था भएपछि आफैँ पनि अडिट हुन्छ। तर त्यहाँ पनि बिल बुझाउने भनेको छ,’ त्यो गाह्रो कुरा हो।
उनले प्रश्न गरे, ‘ए डिभिजनको अवस्था त यस्तो छ, अब बी र सी डिभिजनलाई कसरी विश्वास गर्ने त?’
एन्फाले लिग सुरु भएपछि ४५ दिन रकम दिने भनेको थियो। तर चार महिना भइसक्दा पनि पैसा नदिएको विजय घले बताउँछन्।
के एन्फाको अहिलेको अवस्थालाई ‘फाइनान्सियल फेलर’ भन्न मिल्छ? अहिलेको अवस्थालाई नै फाइनान्सियल फेलर भन्न नमिल्ने पूर्वअध्यक्ष शेर्पा बताउँछन्।
उनको भनाइ जस्ताको तस्तै:
अहिले नै एन्फा फाइनान्सियल फेलियर भएको छैन। फिफा र एएफसीबाट पैसा आइरहेको नै छ। तर विश्वकपको टिकटमा अनियमिताता भएको छ। टिकट किन्नको लागि एएफसीबाट आएको पैसा प्रयोग भएको छ। तर टिकल लगेका मानिसले पैसा नदिएपछि त्यो पैसा उठेको छैन। त्यो नउठेसम्म एएफसीले बाँकी पैसा रिलिज गर्दैन। यता महिला टिमको लागि टिकट किन्न अष्ट्रेलिया पठाउने गरेको छ। हामी एन्फा छोड्दा फिफा र एएफसीमा गरेर ३८ लाख डलर बाँकी छ। पैसाको डेटा हामीसँग छ। नयाँ सिजनको अपरेसनको पैसा १२ हजार डलर आउँछ। त्यो जहाँ खर्च गरे पनि हुन्छ। तर टिकट किन्न पदाधिकारी विदेश पठाउने एन्फाका लागि लिग खेल्ने क्लबको पैसा दिनु प्राथमिकतामा भएन। व्यवस्थापनको कमी कमजोरीले फुटबल संचालन हुँदैन।
लिडरसिपले चाह्यो भने बजारमा जति पनि पैसा रहेको छ। फुटबल सुन सुन जति विक्छ, तर उनीहरुले बेच्नै सकेको छैन। कार्यक्रम बनाएर सेल गर्ने भने हो किन्न चहाने धेरै छन्। त्यसो गर्न अहिलेको कार्यसमितिको योजनै छैन। कसैसँग पनि प्रस्तावना बनाएर दियो भने लगानी गर्ने धेरै रहेका छन्। फुटबलको मेरुदण्ड ए डिभिजन लिगको अवस्था यस्तो छ। दर्शक छैन भन्ने म्यासेज गइरहेको छ। एन्फामा हाम्रो टिमका पनि पदाधिकारी छन्। उनीहरुले भित्रबाट दबाब दिइरहेका छन्। गलत कामको विरोध गरिरहेका छन्। तर हामी उनीहरुका माध्यमले एन्फा नै बहिस्कार गर्ने, पदाधिकारी फिर्ता बोलाउने भन्ने चाहीँ हामी नगर्ने। खराब राजनीति नगर्ने। बरु फुटबल विकासको लागि काम गर्ने। आवाज चाहीँ दिने हो। हामी हाम्रो मोरल जिम्मेवारी लिन्छौं। तर अहिले हामी क्लबहरु पीडित भएर नै पत्रकार सम्मेलनसम्म आएको हो।
क्लबमा पैसा नआएको मात्र कारण होइन, तर यहाँ फुटबल नै धरासायी भएको हो नि। एन्फाले पूर्वाधारमा आएको पैसा लिगमा खर्च गरेको छ। फुटबल भनेको स्पोन्सर न हो। जसले स्पोन्सर धेरै ल्याउने हो उसले चलाउने हो। तर अहिले एन्फाले संघ चलाउन सकेको छैन।
त्यस्तै, खेलाडीको आम्दानीमा एन्फाले १५ प्रतिशत राजस्व लगाइदिएको छ। अहिले क्लबले १८ देखि २२ लाखसम्म तिरिरहेको छ। सबैल क्लबले गरेर तीन करोड ट्याक्स तिरिरहेको छ। यो रकम एन्फाले लगाइरहेको हो। किन यसो गरेको भन्दा फिफाको नियम भन्छन्। अरु जवाफै दिँदैनन्। तर फिफाले यस्तो नियम लगाउँदैन। नेपालको राजस्व फिफाले निर्धारण गर्छ ? अहिले एन्फाबाट साढे ३२ लाख आउँछ। २२ लाख ट्याक्स तिरेको छ। उहि भएन र ? यो कुरा खेलाडीले थाहा नपाएको पनि हुनसक्छ। तर उनीहरु बोलेका छैनन्। अब अन्तिम महिनाको पैसा धेरै काटियो भने उनीहरुले थाहा पाउलान्। १५ प्रतिसत ट्याक्स कहाँ लगाउने पाइन्छ ? सरकारले त जति भयो त्यति उठाइदिन्छ। तर यसरी हुन्छ ? एक दशमलब पाँच प्रतिसत हो नि कर त। टिडिएस । एनआरटीको अध्यक्ष र हामी पहिले देखि नै लडिरहेका छौं।
के अहिले आर्थिक संकटा लागेको अवस्थामा धनी क्लबहरुले सो रकम छोड्ने अवस्था आउँछ त भन्ने प्रश्नको जवाफमा नरेन्द्रले त्यसो गरेमा अरु क्लबलाई यि क्लबमध्ये एनआरटी सबैभन्दा धनी क्लब हो। उसले यो वर्षबाट ए डिभिजनका लागि स्पोन्सर लिएको जानकारी दिएको छ।



