विराटनगर- विराटनगरमा शनिबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। शनबार कोशी प्रदेशसभाको बैठक बस्ने भएकाले प्रदेश नामकरणका विषयमा विरोध हुन सक्ने भएपछि मोरङ प्रशासनले निषेध आदेश जारी गरेको हो।
निषेध आदेशका बेला विरोध, धर्ना, जुलु गर्न पाइने छैन।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवकाअनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा बाधा पुग्नेछैन। तर सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।
फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ।
प्रदेशसभापूर्व देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकिएको छ।
आदेशको उल्लङ्घन भए कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।



