काठमाडौँ- डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएईमा बस्दै आएका पूर्णबहादुर श्रेष्ठले काठमाडौँमा घर जित्न सफल भएका छन्।
जेठ १२ गते शुक्रबार, इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेसडरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनी ट्रान्स्फरको फेसबुक पेजमामा प्रसारण भएको डिजिटल गोलाप्रथामा श्रेष्ठ घर जित्न सफल भएका हुन्। विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर प्रदान गरिने ईसेवाले यसअघि नै सार्वजनिक गरिसकेको थियो। श्रेष्ठले युएईबाट ईसेवा मनी ट्रान्स्फरमार्फत नेपालमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए।
पत्रकार सम्मेलन सहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै ईसेवा मनी ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे।
‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी ईसेवा मनी ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनिय बनाउन निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु।’
ईसेवा मनी ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो। ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए।
‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर पुगेर आकर्षक उपहार समेत प्रदान गरेको उनले जानकारी दिए। कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान सफलता पूर्वक सम्पन्न भएको बताए।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।


