काठमाडौँ- करिव १०३८ वर्षदेखि निरन्तर मनाउँदै आइरहेको हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा २०८२ साल वैशाख १ गतेबाट विधिवत रुपमा शुरु भएर हिजोबाट सम्पन्न भएको छ।
विभिन्न १० देवदेवी श्रीआकाश भैरव, श्रीआकाशदेवी, श्रीचण्डी कुमार, श्रीचण्डी कुमारी, श्रीभद्रकाली, श्रीदक्षिणकाली, श्रीबाराही, श्रीगंगा, श्रीशिव र श्रीपार्वती देवी नृत्य प्रदर्शन गरिने यो जात्रा हरेक १२ वर्षमा १ पटक वैशाख महिनाभरि चल्ने गर्दछ। शनिबावर हल्चोकस्थित देवघर अगाडि नृत्य प्रस्तुत गरेपश्चात विधिवत रुपमा यो जात्रा सम्पन्न भएको छ।
हिजो जात्राको अन्तिम दिन ताम्सीपाखामा उपस्थित भई नगर परिक्रमा गरी ताम्सीपाखा चोकमा, डल्ल’ चोकको भेल’ महादेवमा , डल्ल’को नवजागृति क्लब, सिद्धार्थ चोक, किमडोल हुँदै हलचोकमा अन्तिम नृत्य प्रस्तुत गरिएको थियो। तत्पश्चात देवगणहरुको हल्चोकको लागि फिर्ती सवारी भएको थियो।
गुठीका प्राप्त अभिलेखअनुसार यो जात्राको सुरुवात नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए।
वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए र उनकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको थियो।
तस्बिरमा जात्रा


