काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ५०१ कैदीको सजाय माफीमिनाहा गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कैदीहरुको सजाय मिनाहा गरिदिएका हुन्।
यो सूचीमा नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका टीकापुर घटनाका दोषी रेशम चौधरीसमेत छन्। उनलाई तीनै तहका अदातले जन्मकैदको सजाय सुनाएको थियो। यसअघि आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्।
चौधरीले आफ्नो कैद सजाय माफीमिनाहका लागि निवेदन दिएका थिए। उक्त निवेदनलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपति पौडेलले कानुनबमोजिम गर्न भन्दै गृह मन्त्रालयमा फिर्ता गरेका थिए। त्यसपछि पनि सरकारले पुनः सिफारिस गरेपछि उनको पनि कैद सजाय मिनाहा गरिएको छ।
यद्यपि सरकारको उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्चमा रिट दायर गरेकी छन्। उनले राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई माफी मिनाहा नगर्न भन्दै निवेदन दिएकी थिइन्।
२०७२ भदौ ७ गते टीकापुरमा हिंसात्मक घटना हुँदा ८ जना प्रहरी र १ जना बालकको ज्यान गएको थियो।
माफी पाउनेमध्ये सात जना ज्येष्ठ नागरिक छन्। सरकारले गणतन्त्र दिवसका दिन कैदीहरूको सजाय मिनाहा गर्दै आएको छ।




