काठमाडौँ– गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट राजधानी फर्कंदा देखिएको भीडले राजावादी उत्साहित भएका थिए। त्यही भिडको रापताप र आभामा उभिएर मुलुकको व्यवस्था नै बदल्ने दाबीसहित सुरु भएको राजावादी आन्दोलन अन्ततः थला पर्ने स्थितिमा पुगेको छ।
१५ चैतको तीनकुने हिंसापछि तिलमिलाएका राजवादीले फेरि जेठ १५ कै दिन व्यवस्था उल्टिने उद्घोष गरेका थिए। तर आन्दोलन राजावादीले भने जस्तो भएन, ५ दिनसम्म चलेको आन्दोलनमा पञ्चायती व्यवस्थाका पक्षपोषक कमल थापासहित नेताकार्यकर्ता प्रहरी नियन्त्रणमा पुग्नुबाहेक अरु केही उपलब्धि हात परेन।
‘राजसंस्था पुन:स्थापना नभएसम्म रोकिँदैनौं’ भनेर सडकमा उत्रिएका राजावादीहरूको आन्दोलन राम्रोसँग उठ्न नपाउँदै दिशाहीन र नेतृत्वहीन बन्दै ढल्ने अवस्थामा पुगेको छ।
दोस्रो चरणको संयुक्त आन्दोलनका कार्यक्रम तय गर्न बुधबार काठमाडौँमा बसेको बैठकमा नेतृत्वकर्तामाथि नै केही युवा प्रतिनिधिहरूले प्रश्न उठाएपछि कार्यक्रम बिथोलिएको हो। युवाहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा आन्दोलन अघि बढाउन सक्षम नभएको भन्दै होहल्ला गरेका थिए। कमल थापाले राजावादीलाई एकठाउँमा समेट्नुको सट्टा गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री हुन कुदेको र राजेन्द्र लिङ्देनले राजा फर्काउने आन्दोलनभन्दा गणतान्त्रिक संसद्लाई प्राथमिकता दिएको आरोपसमेत उनीहरूले लगाएका थिए।
पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन आग्रह गरेका खबरहरू सतहमा आएका थिए। ज्ञानेन्द्रको चाहनामा नै कमल थापा र राजेन्द्र लिङ्देनलगायत पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए। उनीहरूले मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै आन्दोलन सुरु गरेका थिए भने १५ गते नै मुलुकमा व्यवस्था परिवर्तन हुने दाबीसमेत गरेका थिए।
सुरुमा सडकमा राम्रै उपस्थिति जनाएका राजावादीहरूको प्रदर्शनमा पछिल्लो समय नैराश्यता देखिएको थियो। जेठ १८ गते सडकमा उत्रिएका राजावादीहरूमाथि प्रहरीले धरपकड गरेपछि आन्दोलनका संयोजक नवराज सुवेदीले १९ जेठमा उपत्यका बन्दको घोषणा गरेर विज्ञप्ति निकालेका थिए। तर राप्रपाले उक्त बन्दमा आफूहरूको समर्थन नरहेको बताएपछि जेठ १९ गते बिहानै राजावादीहरूले बन्द फिर्ता लिएका थिए।
राजावादी आन्दोलन चर्किएकै वेला दरबार हत्याकाण्डको स्मरण गर्दै जेठ १९ गते हिमानी ट्रष्टले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा समेत लफडा भएको थियो।
राजावादी आन्दोलनलाई ज्ञानेन्द्र र उनको परिवारले घोषित रुपमा समर्थन नजनाए पनि पछिल्लो गतिविधि अर्थपूर्ण देखिएको थियो। कुनै राजनीतिक अभीष्ट नभई पितापुर्खाको श्रद्धाञ्जलिका लागि कार्यक्रम राखिएको भनिए पनि यसले राजावादी आन्दोलनलाई ऊर्जा थप्ने काम गरेको थियो। तर श्रद्धाञ्जलि तथा दीप प्रज्वलन कार्यक्रममा दरबार हत्याकाण्डमा मारिएका दीपेन्द्रबाहेक सबै सदस्यको तस्बिर राखिएको थियो, भने दीपेन्द्रलाई हत्यारा करार गर्न खोजिएको भन्दै लफडा भएको थियो।
राजावादी आन्दोलन चर्किएकै वेला दरबार हत्याकाण्डको स्मरण गर्दै जेठ १९ गते हिमानी ट्रष्टले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा समेत लफडा भएको थियो।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बुधबार बैठक बोलाएका थिए। तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसद्मा व्यस्त रहेको जानकारी गराइयो। त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्यो भन्दै होहल्ला गर्न थालेका थिए। त्यसपछि राप्रपा अध्यक्ष कमल थापाले भने, ‘तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिनँ, जे मन लाग्यो त्यही गर्नूस्। यसरी बैठक चल्छ? भन्दै रिसाएर बोल्न छोडे।
त्यसपछि समितिका संयोजक सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिँदै सभालाई विसर्जन गरेका थिए। त्यसपछि उनले विज्ञप्ति निकालेर अब समितिले जिल्ला केन्द्रित आन्दोलन गर्ने जनाएका थिए भने ‘संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठक त्यतिमै सकिएको थियो। त्यसमा काठमाडौँ उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनलाई जारी राख्ने, काठमाडौँको अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने, आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने उल्लेख गरिएको थियो।
देशका विभिन्न जिल्लामा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गर्ने र देशका विभिन्न जिल्लाहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गरिने विज्ञप्तिमा उल्लेख छ। तर, असन्तुष्ट युवाहरूको समुहले छुट्टै भेला गरेर कार्यक्रम घोषणा गर्ने बताइरहेका छन्। उनीहरूले बुढाखाडाबाट आन्दोलनको नेतृत्व हुन नसक्ने दाबी गरेका छन्। यद्यपि आन्दोलनका माग कसले सम्बोधन गर्छ भन्नेमा आन्दोलनकारी शक्ति नै अन्योलनमा परेका छन्।
अर्कोतर्फ राजावादीको आन्दोलनमा सरकारले हस्तक्षेपकारी नीति अवलम्बन गरिरहेको छ। राजधानीका विभिन्न ठाउँमा भेला हुन र सभासम्मेलनमा रोक लगाउनु यसको एउटा प्रमाण हो। नेताकार्यकर्ता पक्राउ पर्नेदेखि सरकारी पक्षबाट ‘धरपकड’ हुने क्रम जारी छ। सरकारले लगातार निषेध आदेश बढाउँदा राजावादी नेता आक्रोशित छन्। जेठ १८ बेलुका राजावादी संस्थाको आन्दोलनमा सरिक राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले पक्राउ गर्यो।
‘कार्यक्रम सबै राजावादी नेताहरूले गरेका हुन् तर दुर्गा दाइमाथि मात्र थोपरियो। यो हामीलाई सह्य हुँदैन,’ लिम्बू भन्छन्, ‘राप्रपाका नेताहरूले प्रहरीसामु बयानमा समेत सबै घटना दुर्गा दाइले नै गराएको भनेका कारण आन्दोलनमा हाम्रो संलग्नता नभएको हो।’
थापालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो। उनीसहित अन्य सात नेतालाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको थियो।
राजतन्त्र पुनर्स्थापनाका लागि गत चैत १५ गते तीनकुनेमा विध्वंश मच्चाउने गरी भएको प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त हिंसात्मक प्रदर्शनको जिम्मेवारी प्रसाईँको टाउकोमा हालेर अर्को आन्दोलनमा उत्रिएका राजावादीहरूले पनि कुनै खास उपलब्धि गर्नुको साटो आफ्नै कार्यकर्ताहरू बिथोल्न लागि परे जस्तै देखिएका छन्। प्रसाईँ भने प्रहरी हिरासतमा छन्। प्रहरी हिरासमा रहेका प्रसाइँले सहकर्मीहरूले नै आफूलाई ‘धोका’ दिएको बताउँदै आएका छन्।
राजावादीहरू सडक आन्दोलनमा होमिए पनि दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृति बचाउ अभियान’ भने सहभागी छैन। यसअघि विज्ञप्ति निकालेर अभियानले कार्यक्रम बहिष्कार गरेको हो। अभियानका सचिव प्रेमदीप लिम्बूले गत चैत १५ को तीनकुने प्रदर्शनमा प्रसाईँलाई मात्र दोषी बनाएको, राप्रपाले ‘भ्रष्ट शासकसँग तालमेल गरेको’ आरोप लगाएका छन्। ‘कार्यक्रम सबै राजावादी नेताहरूले गरेका हुन् तर दुर्गा दाइमाथि मात्र थोपरियो। यो हामीलाई सह्य हुँदैन,’ लिम्बू भन्छन्, ‘राप्रपाका नेताहरूले प्रहरीसामु बयानमा समेत सबै घटना दुर्गा दाइले नै गराएको भनेका कारण आन्दोलनमा हाम्रो संलग्नता नभएको हो।’
अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा प्रशासनको नजरमा सम्पर्कविहीन भएका छन्। उनीहरू सम्पर्कविहीन भएपछि उनीहरूको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ। अदालतमा मुद्दा दर्ता भएपछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरू अहिलेसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिने दुई वकिललाई ५०-५० हजार रुपैयाँ जरिमाना तिराइएको हो।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूको आन्दोलन तुहिएको दाबी गरेका छन्। बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘देशमा यत्रो ठूलो परिवर्तन आएको छ। अब राजावादीले आन्दोलन गरेर हुँदैन। राजावादीको आन्दोलन समाप्त भयो, तुहिसक्यो।’
अर्कातिर राजावादीहरूले ज्ञानेन्द्र शाह वा उनका नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरूमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ। जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जो कोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिले धारणा व्यक्त गरेको छ।
गत चैत १५ को हिंसात्मक प्रदर्शन, कार्यकर्तानेता बीचको अविश्वास, विभाजित शक्ति र पूर्वराजाको मौनता मिलेर आन्दोलनलाई अविश्वसनीय बनाउँदै लगेका छन्। जनताको समर्थन त टाढाको कुरा भयो, अब आफ्नै समर्थकले समेत नेताहरूप्रति प्रश्न उठाउन थालेका छन्। यदि पूर्वराजाको नाममा आन्दोलन गर्ने हो भने, उनले स्पष्ट रूपमा अगाडि आउनुपर्ने बेला यही हो। नत्र आन्दोलनले पूर्वराजाको नाम नै गुमाउने खतरासमेत बढेको छ।
अहिलेको अवस्था हेर्दा राजावादी आन्दोलनले निर्णायक मोड लिनुभन्दा पहिले नै ‘संयोजन र स्पष्ट एजेन्डा’को अभावमा टुक्रिन थालेको देखिएको छ। नेतृत्व तहकै मतभेद, मुद्दाको अस्पष्टता र जनअपेक्षाको मूल्यांकन नगरी गरिने जुनसुकै आन्दोलन दीर्घकालीन प्रभाव पार्न असमर्थ हुन्छ भन्ने यथार्थ फेरि एकपटक पुष्टि भएको छ।


