काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा सोमबार बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्।
तरकारीका बिरुवा रोप्दै उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताए। यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने उनको भनाइ छ।
‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भनेका थिए, ‘कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’
तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकले सहयोग गरेका थिए।


