काठमाडौं – इंग्लिस प्रिमियर लिग (इपिएल) को आइतबार राति सकिएको सिजनको उपाधि म्यानचेस्टरले तीन खेल अघि नै जितिसकेको छ। लामो समय लन्डन क्लब आर्सनलले उपाधि होडमा बर्चस्व जमाए पनि अन्तिममा लय गुमाएपछि सिटीले पछिल्ला छ सिजनमा पाँचौं पटक उपाधि कब्जा गरेको हो।
प्रिमियर लिगमा गएराति अन्तिम चरणका सबै खेल एकै समयमा सम्पन्न भएपछि सबै टिमको स्थानको समेत टुंगो लागेको छ। उपाधि सिटीले जितेको छ भने दोस्रो स्थान आर्सनलले कब्जा गरेको छ।
शीर्ष चारमा रहेर आउँदो सिजनमा च्याम्पियन्स लिग खेल्नको लागि छनोट हुने क्लबमा म्यानचेस्टर युनाइटेड र न्युकासल पनि रहेका छन्। यि दुई क्लब क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्। प्रिमियर लिगमा शीर्ष चारमा पर्ने क्लबले च्याम्पियन्स लिग खेल्न पाउँछन्। त्यसपछिका दुई क्लबले भने युरोपको दोस्रो श्रेणीको युरोपा लिग खेल्न पाउँछन्।
तीन सिजन अघि मात्र प्रिमियर लिगको उपाधि जितेको लिभरपुल यो सिजन पाँचौ स्थानमा समेटिएको छ। अब उसले युइएफए युरोपा लिग खेल्नेछ। त्यस्तै, छैटौं स्थानको ब्राइटोन पनि युरोपा लिगमा नै छनोट भएको हो।
यो वर्ष निकै राम्रो प्रदर्शनको आशा गरिएको टोटेनहम हट्स्पर भने आठौं स्थानमा समेटिएको छ। ऊ त एस्टन भिल्ला भन्दा पनि एक स्थान पछि पर्यो। भिल्लाले साताैं स्थानमा रहेर सिजन अन्त्य गरेको छ। यो सिजनको मिडिल टेबलमा रहेका क्लबहरु हुन ब्रेन्टफर्ड, फुलहाम, क्रिस्टल प्यालेस र चेल्सी। यि क्लब क्रमशः नवौं, दशौं, एघारौँ र १२ औं स्थानमा रहेका छन्।
खेलाडी ट्रान्सफरमा ठूलो रकम दाउमा लगाएको चेल्सीले यो सिजन राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो। तर प्रशिक्षक परिवर्तन गरे पनि चेल्सीले राम्रो नतिजा भने लिन सकेन। उसले यो वर्ष दुई पटक प्रशिक्षक परिवर्तन गरेको थियो। साथै रोहन इब्राहिमोविचबाट क्लब बोहेली ग्रुपले खरिद गरेको थियो।
तर, दुई सिजन अघि मात्र म्यानचेस्टर सिटीलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको चेल्सी यो सिजन भने १२ औं स्थानमा रह्यो। प्रिमियर लिगमा उल्भ्स, वेस्ट ह्याम, बर्नेमाउथ, नटम फरेस्ट र एभर्टन तालिकाको १३ औं देखि १७ औं स्थान सम्म कायम रहेका छन्।
यि क्लबहरु भने रेलिगेसनबाट जोगिएका क्लब हुन्। किनभने यिनीहरुले सिजनभरी सानदार प्रदर्शन गर्न सकेनन्। यता लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले त रेलिगेसन जोगाउनै सकेनन्। यि तीन क्लब च्याम्पियनसिपमा घटुवा भएका छन्।
साथै यो वर्षको च्याम्पियन्सिपबाट प्रिमियर लिगमा बढुवा हुने तीन क्लबमा बर्नली, शेफिल्ड युनाइटेड र लुटन टाउन छन्। लिगको आधारमा बर्नली र शेफिल्ड बढुवा भएका हुन्। बढुवाको लागि आयोजना गरिने प्ले अफमा जित निकाल्दै लुटन टाउन प्रिमियर लिगको लागि छनोट भएको हो। उसले प्ले अफ फाइनलमा कन्भेन्ट्रीलाई पेनाल्टीमा हराएर बढुवाको अवसर पाएको हो।
यस्तो छ प्रिमियर लिगको अन्तिम खेलको नतिजाः
एस्टन भिल्ला २–१ ब्राइटोन
इभर्टन १–० बर्नेमाउथ
लिड्स युनाइटेड १–४ टोटेनहम
ब्रेन्टफर्ड १–० म्यानचेस्टर सिटी
म्यानचेस्टर युनाइटेड २–१ फुलहाम
चेल्सी १–१ न्युकासल
लेस्टर सिटी २–१ वेस्टहाम
आर्सनल ५–० उल्भ्स
साउथह्याम्टन ४–४ लिभरपुल
क्रिस्टल प्यालेस १–१ नटम फरेस्ट


