काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्।
७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी उनले दिए। ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको उनले बताए।
‘सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान ‘माउन्ट एभरेस्ट’का रूपमा छ,’ मन्त्री पाण्डेले भने, ‘नेपालको सन्दर्भमा सगरमाथा नै हो। यसैको मार्केटिङ गर्नुपर्छ।’
उनले भारत र चीनबाट मात्र उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई दृष्टिगत गर्दै सरकार यस दिशामा योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए।
कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही संघ र हनुमानढोका दरबार संग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो।


