काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
अनुमोदित हुनेमध्ये सारु, पाण्डे र डाँगी उच्च अदालतका न्यायाधीश हुन् भने डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन्।
चारै जनाको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो। सुनुवाइका क्रममा उनीहरूविरुद्ध कुल २८ वटा उजुरी परेका थिए। समितिले उजुरीमाथि अध्ययन तथा प्रस्तावित न्यायाधीशहरूसँगको सुनुवाइ प्रक्रिया पूरा गरेपछि नियुक्तिका लागि बाटो खुला गरेको हो।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब चारै जनालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।


