काठमाडौँ- जेठ १० गते चीन पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ उपराष्ट्रपतिलगायतका उच्च राजनीतिक भेटघाट गरिन्। जेठ १९ गते स्वदेश फर्किएलगत्तै जिल्ला दौडमा सक्रिय भइन्।
उनी जिल्ला भ्रमणमा रहेकै बेला एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूत बनाएर प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका एमाले उपहासचिव विष्णु रिमाललाई चीन भ्रमणमा पठाए।
चीनको राजधानी बेइजिङमा रिमालले उच्चस्तरीय राजनीतिक भेटघाटका कार्यक्रम गरेको बताइएपनि एमाले र सरकारले कुनै पनि सूचना दिएको छैन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलगत्तै प्रधानमन्त्री ओलीले रिमाललाई चीन भ्रमणमा पठाउनुलाई अर्थपूर्ण मानिएको छ। चीन भ्रमणपछि एमालेका नेताहरूले वाम एकताका पक्षमा चीन रहेको र भण्डारीले वामपन्थीहरूलाई एकठाउँमा ल्याएर नेतृत्व लिन सक्ने बताउन थालेका छन्। एमालेभित्रको आन्तरिक गुटबन्दीमा चाइना कार्डलाई ओली अनुकुल बनाउन यो भ्रमण भएको बताइएको छ। यसका साथै विद्याले चीनमा गरेका भेटघाट र त्यसमा भएका कुराकानी पहिल्याउनु रिमाल भ्रमणको उद्देश्य रहेको बताइन्छ।
तर रिमाल चीन भ्रमणमा पुगेको जानकारी पाउनेबित्तिकै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन्। मंगलवार भण्डारी र ओलीबीच लामो कुराकानी भएको थियो। कुराकानीका वेला उनीहरूसँग अन्य कुनै पनि नेता उपस्थित थिएनन्।
भण्डारीले ओलीलाई आफ्नो चीन भ्रमण र जिल्लामा एमाले कार्यकर्ताहरूसँग भएका भेटवारे कुराकानी सुनाएकी थिइन्। उनीहरूबीच एमाले राजनीतिका विषयमा कुराकानी भएको थियो।
ओली र भण्डारीबीच लामो समय कुराकानी भएको थिएन। भण्डारीको सक्रियता र भाषणबाजीलाई ओलीले पनि प्रत्युत्तर दिने गरेका थिए। यसो गर्दा पार्टीमा गुट मौलाउँदै गएको र सार्वजनिक सञ्चार माध्यममा पनि गुटबन्दीले मलजल पाउने थालेको समाचारहरू आएपछि दुवै नेताहरूले त्यस्तो भ्रम चिर्न र आफूहरूको सौहार्दपूर्ण सम्बन्ध रहेको देखाउनका लागि विद्या बालुवाटार पुगेकी हुन्।
मंगलवार भण्डारी र ओलीबीच लामो कुराकानी भएको थियो। कुराकानीका वेला उनीहरूसँग अन्य कुनै पनि नेता उपस्थित थिएनन्।
असार १ गते चीन लागेका रिमाल शुक्रवार फर्कने कार्यक्रम छ।
एमालेको ब्यानरमा गएर भण्डारीले भाषण गर्न थालेपछि विद्यासँग केपी असन्तुष्ट बनेका थिए। जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै उनका पक्षमा नखुल्न नेता–कार्यकर्तालाई घुमाउरो पारामा चेतावनी दिएका पनि थिए। ‘अर्को खेल हुन खोज्या छ यहाँ, अब फलाना आउने अरे, फलाना आउने रे,’ ओलीले भनेका थिए। यही विषयलाई लिएर भण्डारी पनि आफूलाई एमालेका कार्यकर्ता भेटघाट गर्न कसैलाई सोध्नु नपर्ने बताएकी थिइन्।
मंगलबारको भेटमा आफूले कार्यकर्तहरूको कुराकानी सुनेको र तल्लो तहमा पार्टी कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरी अप्रत्यक्ष रुपमा ओलीलाई विद्याले चुनौती पनि पस्किएकी थिइन्। ‘उहाँ (भण्डारी)ले अध्यक्षज्यूसँग प्रष्ट कुरा राख्नु भएको छ। पार्टी बिग्रेको विषयमा उहाँलाई चिन्ता छ,’ भण्डारी निकट रहेका एक नेताले भने।
भण्डारीले एमालेको आगामी अधिवेशनका विषयमा ओलीसँग कुराकानी गरेको बताइएको छ। एमालेको विधान अधिवेशन भदौ २० देखि २२ गतेसम्म आयोजना हुने निर्णय भइसकेको छ। एमालेले अघिल्लो विधान सम्मेलनले नेतृत्वको लागि ७० वर्षे उमेरहद लगाएको थियो। तर, २०८० जेठमा बसेको सचिवालय बैठकले कार्यकारिणी कमिटीमा उमेर हदलाई निलम्बन गरेको छ। अहिलेसम्म फुकुवा भएको छैन। ओली उमेर हदको विपक्षमा छन् भने विद्या ओलीलाई किनारा पार्न पनि उमेर हदको विषयलाई प्राथमिकताका साथ उठाउने पक्षमा छिन्। ओली ७४ वर्ष पुगेका छन् भने विद्याको उमेर ६४ वर्ष छ।
भण्डारीले आफू एमालेको अध्यक्षमा भिड्ने कुरा नबताएको उनीनिकट स्रोतको दाबी छ। तर नयाँ नेतृत्वको चाहना गरेको भन्ने कुरा ओलीसँग राखेकी थिइन्। ओलीले भने अझै महाधिवेशनको समय आउन बाँकी रहेकाले महाधिवेशनका विषयमा थप छलफल र सल्लाह गर्न सकिने भन्दै विद्यालाई टारेका थिए। ओलीसँग भेटेपछि भण्डारीले आफूपक्षका एमालेका नेताहरूलाई ब्रिफिङ पनि गरेकी थिइन्।
एमाले कार्यकर्ताहरू भने अहिले नै पार्टीमा गुटगत विभाजन देखिन थालेको बताउन थालेका छन्। पछिल्लो समय भातृसंगठनहरूमा चुनाव हुने परिस्थितिको निर्माणको आधार पनि विद्या फ्याक्टर नै भएको एमाले कार्यकर्ताहरूको ठहर छ। फागुनयता भएका भातृसंस्थाका महाधिवेशनमध्ये अनेरास्ववियु र युवा संघमा मात्र चुनाव भएको छ।
यी दुवैमा ओली खेमाले अध्यक्ष जितेपनि पराजित हुनेहरुले सम्मानजनक मत पाएका छन्। पछिल्लो पटक भएको पीपीएलएमा विद्यापक्षतर्फ ढल्केका अमर थापाले चुनाव जितेका छन्। यसले पार्टीमा विद्याको राजनीति सफलतातर्फ ढल्कँदै देखाएको छ।
एमाले नेताहरू योगेश भट्टराई, कर्ण थापा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गोकुल बाँस्कोटामा विद्या खेमामा सक्रिय हुन थालेका छन्। ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी समय पार्टीको अध्यक्ष पदमा दोहोरिन नपाउने व्यवस्था यसअघिको विधान महाधिवेशनबाट पारित भएको विधान अनुसार अब ओली फेरि अध्यक्षमा दोहोरिनका नपाउने बताएका छन्। फेरि पनि एमाले अध्यक्ष बन्न अब ओलीको इच्छाशक्ति मात्रले नहुने उनको भनाइ छ।
‘उहाँको इच्छाशक्तिलाई सलाम छ। उहाँको इच्छाशक्ति बलियो छ, त्यसकारण त्यो भनिरहनुभएको छ,’ प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग संवाद गर्दै योगेशले भनेका छन्, ‘तर, उहाँको इच्छाशक्तिलाई जित्ने अर्को कुनै परिस्थिति हुन्छ क्या फेरि! इच्छाशक्तिले मात्रै हुँदैन नि!’


