काठमाडौँ- नेपाली कांग्रेसले सरकार विस्तार गर्दा ८ मन्त्रालय पाउनुपर्ने अडान नछाड्ने भएको छ। सत्तारुढ गठबन्धनमा ८ मन्त्रालय पाउनुपर्ने दाबी गरेको कांग्रेसले अडान नछाड्ने भएको हो।
शनिबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ८ मन्त्रालयमा कांग्रेसको दाबी रहेको बताएका हुन्।
‘हामीले ८ मन्त्रालयमा दाबी गरेका छौं। तर ७ वटा मन्त्रालय मात्रै दिन सकिने कुरा प्रधानमन्त्रीबाट आएको छ,’ खड्काको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नेपाल क्लिक्ससँग भने। बैठकमा सहभागीहरूले कम्तीमा आठ मन्त्रालय पाउनुपर्ने दाबी नछाड्न भनेका थिए।
बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय गतिविधिका बारेमा बिफ्रिङ गरेका थिए।
उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकदुई दिनमा नै सरकार विस्तार हुने बताएका छन्।
