‘जीन्दगीमा निरास छैन। सपना बोक्यो भने १ डेढसय वर्ष बाँच्न गाह्रो छैन भन्ने पनि लाग्छ। कसैले मलाई बुढो भयो, पीता सिता भन्यो भने रिस उठिहाल्छ। अहिले मैले ७० वर्षको सपना बोकेँ भने सफल हुन्छु।’
लेखक झलक सुवेदीसँगको अन्तर्वातामा गणेश शर्मा पौडेलले व्यक्त गरेको भनाई हो यो। ८१ वर्षको उमेर हुँदा सुवेदीसँगको कुराकानीमा पौडेलले यस्तो युवा जोससहित कुरा गरेका थिए। उनै पौडेलको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ। पौडेल फोक्सोको क्यान्सरबाट पीडित थिए। गणेश शर्मा पौडेल गण्डकी धौलागिरी क्षेत्रमा परिचित शैक्षिक राजनीतिक नाम हो। उमेर ८२ वर्ष, तर सबैको सम्बोधन हुने गर्थ्यो गणेश सर! सबै उमेर समूहको सहज सम्बोधन गणेश सर थियो।
पर्वत जिल्लाको साविक पिपलटारी वितलव हाल कुश्मा नगरपालिका १० मा विस २००० साल माघ १३ गते जन्मिएका शर्माका मुख्यत दुई परिचय छन्। एक उनी राजनीतिकरुपमा र त्यो भन्दा बढी जिल्लाको शैक्षिक धरोहरका रुपमा सम्मानित छन्। जीवनको अन्तिम समय पौडेल नेकपा एमाले केन्द्रीय सहल्लाहकार समिति सदस्य थिए।
पर्वतको वामपन्थी राजनीतिमा उनको योगदान छ। पर्वत जिल्लामा तत्कालिन नेकपा मालेका संस्थापक पाँच जना मध्ये उनी एक थिए। २०३६ साल असोजमा बामदेव गौतमले पौडेलसहितलाई संगठित गरेर पर्वतमा नेकपा माले गठन गरेका थिए। जसमा कृष्ण प्रसाद भट्टराई सचिव, तोयानाथ चालिसे, विष्णु प्रसाद भट्टराई र बाबुराम शर्मा सदस्य थिए। कृष्ण प्रसाद भट्टराई २०४७ मा पवर्त क्षेत्र नं १ बाट प्रतिनिधसभा सदस्यसमेत निर्वाचित भए।
यस अघि उनी र कृष्ण प्रसाद भट्टराई गण्डकी धौलागिरी माले दलमा रहेर काम गरेका थिए।
राजनीतिसँगै शैक्षिक क्षेत्रमा उनको अतुलनीय योगदान छ। लामो समय वितलव स्थित पूर्णेश्वर माविको प्रधानाध्यापक रहे पौडेल। उनले पढाएका विद्यार्थी अहिले पनि उच्चतहमा छन्। पौडेल आफ्नो विद्यालय समयदेखि राजनीतिमा आकर्षित भएका थिए। २०१८ सालमा गाउँबाट उनी पढ्न काठमाडौं आए। पढ्ने अधिक रुचि भएकै कारण उनी भागेर काठमाडौं आएका थिए। बुबाले पढ्न बानरस जान भने पनि शर्मा दाजुसँग कुरा नमिल्ने र संस्कृत भन्दा विज्ञान पढ्ने भन्दै काठमाडौं हान्निएका थिए।
काठमाडौं आएर जेपी स्कुलमा कक्षा ८ मा भर्ना हुन खोजे पनि उनलाई भर्ना लिइएन। भर्नाका लागि एउटा बाक्यलाई अंग्रेजी बनाउनु पर्ने थियो तर संस्कृत पढेका पौडेलले त्यसलाई उल्था गर्न सकेनन्। त्यसपछि विद्यालयले उनलाई कक्षा ७ मा बस्न भन्यो। १७ वर्ष उमेर भइसकेका पौडेल ८ कक्षामै पढ्ने निधो गरेर अर्को स्कुल शान्ति विद्यामा पुगे। त्यहाँ उनलाई ८ कक्षामा नै भर्ना गरिदिए। यसरी उनको राजधानीमा पढाई सुरु भएको थियो।
जेपी स्कुलमा भर्ना हुन जाँदा शर्माले एकजना साथी पनि भेटे। भर्नाका लागि अन्तर्वार्ता दिए निस्कँदै गर्दा ढोकामा भेटिए भरत गुरुङ। गुरुङ तिनै हुन पछि तत्कालिन अधिराजकुमार धिरेन्द्रको एडिसी भएर सत्तामा रजगज गरेका थिए। गुरुङले शर्मालाई के प्रश्न गर्यो भनेर सोधे। सुवेदीसँगको अन्तर्वार्तामा शर्माले भनेका छन्, ‘भरतले पनि उल्था गर्न नसकेपछि दुवै जना शान्ति विद्या पुगेर भर्ना भयौं।’
काठमाडौंमा अध्ययनको समयमा नै शर्मा राजनीतिमा आकर्षित भएका हुन्। उनी पहिले बाम राजनीतिमा थिएनन्। उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो। शर्मा २०१८ सालदेखि २०२५ सम्म नेपाल विद्यार्थी संघमा आवद्ध थिए। तर जब उनी विज्ञान पढ्न अमृत साइन्स क्याम्पस पुगे त्यो बेला उनी बामपन्थी राजनीति तर्फ आकर्षित भए। विज्ञानका सिद्धान्तहरु पढेर आफू कम्युनिस्ट राजनीतिमा आकर्षित भएको शर्मा बताउने गर्थे।
नेपाल विद्यार्थी संघमा साथी कै संगतका कारण उनी लागेका थिए। स्कुल र क्याम्पस पढ्दा शर्माको डेरा ठमेलमा थियो। ठमेलमा उनी बस्ने घरमा नै त्यतिबेलाका नेवि संघका नेताहरु बस्ने गर्थे। इन्दु शर्मा, नारायण शर्मा, रामचन्द्र पौडेलसँग उनको संगत बढ्यो। दुई शर्मा बन्धु पौडेल कै गाउँ ज्ञादीका थिए। इन्दु शर्मा पछि पर्वतबाट सांसद बने भने नारायण शर्मा मन्त्री बने। रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन्। उनीहरु कै संगतले उनी कांग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध भएका थिए।
तर आइएस्सी पढने क्रममा भने उनी अखिल छैठौंतिर आवद्ध भएका थिए। त्यतिबेला दिनानाथ शर्माले आफूलाई पाँचौतिर ल्याउन प्रयत्न गरे पनि नआएको उनी बताउने गर्थे।
पूर्वमन्त्री समेत रहेका दिनानाथ शर्माले पौडेलको निधनमा आफूले असल मित्र गुमाएको बताएका छन्। उनले फेसवुकमा लेखेका छन्, ‘शिक्षक आन्दोलनका सहयात्री, मेरा अनन्यमित्र गणेश शर्मा पौडेलको शरिरान्तको खबरले स्तब्ध बनायो। गणेश सरप्रति हार्दिक श्रद्धञ्जली परिवारजनमा गहिरो समवेदना।’
पौडेलले विएस्सी त्रिचन्द्र क्याम्पसमा अध्ययन गरे। तर त्यसलाई पुरा भने गरेनन्। त्यसपछि उनी विएस्सी एजी गर्न रामपुर पुगे। रामपुरबाट कृषि विज्ञानमा स्नातक गरेपछि उनी शिक्षणमा लागे। तर यसको उदेश्य भने बाम राजनीति प्रचारप्रसार रहेको थियो। विएस्सी एजीको पढाई सकेर शर्मा स्याङ्जाको चिलाउनेवासमा शिक्षणको लागि पुगेका थिए। त्यसपछि उनले पर्वत जिल्ला कै ठूलीपोखरीमा पनि शिक्षण गरे। तर त्यहाँ पनि उनलाई धेरै समय टिक्न दिइएन। स्थानीय पन्चहरु युवाहरुलाई बाम राजनीतिमा आकर्षित गरेको भन्दै उनीविरुद्ध लागे। उनी त्यहाँबाट जिल्ला कै तिलाहारमा पढाउन गए। तिलाहारबाट उनी आफ्नै गाउँ वितलव स्थित पूणेश्वर माविमा फर्किए। २०३८ सालतिर वितलब आएका शर्माले विद्यालयलाई आफ्नो जीवनमा जिल्लाकै पहिलो चरणको उच्चमाध्यमिक विद्यालय पनि बनाए। पछिल्लो चरणमा शर्मा कै पहलमा सोहि विद्यायमा प्राविधिक शिक्षासमेत सुरु गरिएको थियो। शर्मा २०५३ सालमा सोहि विद्यालय पूर्णेश्वर उच्चमाविबाट सेवा निवृत्त भएका थिए। उनको समयमा पूर्णेश्वर उच्चमाविलाई जिल्ला कै उत्कृष्ट विद्यालयको रुपमा लिने गरिन्थ्यो।
उनले जुन विद्यालयमा पढाए त्यहाँ विद्यार्थीलाई कृषिसँग जोड्ने प्रयास गरिरहे। विद्यार्थीलाई कुखुरा पालन, तरकारी खेति, फलफूल खेति गर्नै पर्ने गरी उनले नियम बनाइदिएका थिए। जसले गर्दा विद्यार्थीलाई सिर्जनात्मक श्रम गर्न सिकाएको थियो।
कृषिसँग जोडिदा पढ्ने खर्चसमेत मिलेको भन्दै परिवार पनि खुसी भएर आफूलाई भेट्न आएको पौडेलले सुनाउने गर्थे।
शर्मा सामाजिक रुढिवादका कट्टर विरोधि थिए। छुवाछुत विरुद्ध उनले आयोजना गरेका सहभोज अहिले पनि पर्वतमा उनका समकालिनहरुले सम्झिने गर्छन्।
शर्माले दलित गाउँमा खाना खाएपछि उनकी आमालाई छिमेकीले उनीहरुले छोएको नखाने भन्दै चेतावनी समेत दिएका थिए। तर शर्माले त्यसको वेवास्ता गर्दै रुढिवादविरुद्ध लागिरहे।
महिलाले हलो जोत्न हुँदैन भन्ने समयमा शर्माले महिलालाई हलो जोत्न लगाएका थिए। जनतासुदर्शन स्कुल कै प्रांगणमा रहेको पोखरीमा कल्पना पौडेल सहितका विद्यार्थीले हलो जोतेर विद्रोह गरेका थिए। जसलाई पर्वतको हलो क्रान्तिको रुपमा लिइन्छ।
शर्मालाई २०४२ सालको शिक्षक आन्दोलनका क्रममा राजकाज मुद्दा समेत लगाइएको थियो।
शर्माले भन्ने गर्थे ‘काम गर्नका लागि युवक र बुढोको कुनै मतलब गर्न हुँदैन। केहि गर्नका लागि उमेर सम्झनु हुँदैन।‘
विद्यार्थीलाई कडा अनुशासनमा पढाइने समयमा गणेश सरको पढाउने शैली फरक रहेको उनका विद्यार्थी तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
‘उहाँले अध्ययनलाई व्यवहारसँग जोड्न खोज्नु हुन्थ्यो,’ भट्टराईले भने,’गणेश सरले कहिल्यै कुटेर पढाएको याद छैन।’ डा.भट्टराई नेकपा माले पर्वतका संस्थापक सचिव कृष्ण प्रसाद भट्टराईका छोरा हुन्। जीवनको अन्तिमसम्म पनि गणेश सरले आफूलाई राजनीतिमा जान आग्रह गरेको भट्टराईले बताए।
२०५३ सालमा सेवा निवृत्त भएपछि शर्मालाई जिल्ला विकास समितिको सभापतिमा प्रस्ताव गरिए पनि नेकपा एमाले भित्रको गुटगत खिचातानीमा परेका थिए। शर्माको ठाउँमा गणेश तिमिल्सिनालाई सभापतिको उम्मेदवार बनाइएको थियो। तिमिल्सिना राष्ट्रिय सभाका निवर्तमान अध्यक्षसमेत हुन्।
एमाले विभाजनमा पौडेलले बामदेव गौतमलाई साथ दिए। शर्मा शैक्षिकरुपमा जति सफल भए संसदीय राजनीतिमा त्यसरी सफल हुन सकेनन्। हरेक निर्वाचनमा उनको भागमा पराजय मात्र पर्यो। २०५६ को आम निर्वाचनमा उनी नेकपा मालेबाट पर्वत क्षत्रे नं १ बाट प्रतिनिधिसभा उम्मेदवार बने पनि पराजित भए।
उनलाई नेकपा एमालेले २०६४ सालको संविधानसभाको निर्वाचनमा समेत उम्मेदवार बनायो तर त्यसमा पनि पौडेल पराजित बने। पछिल्लो स्थानीय तह निर्वाचनमा पौडेल कुश्मा नगरपालिकाको मेयरमा उम्मेदवार बने। तर त्यसमा पनि पराजित बनेका थिए।
पौडेल जिल्लाको विकास निर्माणका सन्दर्भमा पनि पहल गरिरहन्थे। उन कै नेतृत्वमा दोविल्ला फलेवास सडकको मोदीखोलामा मोटरेवल पुल निर्माण भएको थियो। पौडेललाई राजनीतिक र शैक्षिक माध्यमबाट एक समाज सुधारकको रुपमा पनि हेर्न सकिन्छ। उनले आफ्नो जीवनकालमा गरेको शैक्षिक योगदान र सामाजिक रुढिवादविरुद्ध बोलेका धावाले यसलाई पुष्टि गर्छ।


