सम्बत् २०८३ भदौ १० गतेको शान्त बिहानी एकाएक कोलाहाल र असामान्य बन्यो। धुञ्चेमा रहनु भएका माथिल्लो त्रिशूली २१६ मेगावाट आयोजना निर्माण गरिरहेको कम्पनीका वरिष्ठ प्रबन्धकले करिब ८ बजेर ५७ मिनेटतिर मैलुङ क्याम्पमा रहेका कामदार तथा कर्मचारीलाई आपतकालीन सन्देश जारी गर्नु भयो – बाढी आउँदैछ सुरक्षित रहनु होला। खबर गरेको क्षणभरमै भोटेकोशी–त्रिशूली नदीको विनाशकारी रूप आफ्नो बाटोमा परेका मानव, गाउँवस्ती, संरचना, बाटोघाटो र भूभागलाई तहसनहस बनाउँदै अघि बढ्यो।
आयोजनाका विभिन्न साइटहरू बाढीको चपेटामा परे, जसको तत्कालै लेखाजोखा सम्भव छैन। त्यस बखत आयोजनाका विभिन्न स्थानमा कम्पनीका कामदार तथा कर्मचारी काममा लागि सकेका थिए। बाढीपछि सम्पर्क सबै विच्छेद भयो, स्थिति एकाएक अन्योल र कहालीलाग्दो बन्यो। छिनभरमै धेरै स्थानीय बासिन्दासहित जलविद्युत कम्पनीका कामदार तथा कर्मचारी सम्पर्कविहीन भए।
त्यही क्षणबाट सुरु भयो कठिन खोजी र उद्धार यात्रा।

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्ल्यूईडीसी) र ठेक्केदार कम्पनीहरूका लागि यो केवल एउटा प्राविधिक उद्धार अभियान थिएन। सम्पर्कविहीन आफ्ना कामदार तथा कर्मचारीको खोजी गर्नु, उनीहरूका परिवारलाई विश्वसनीय सूचना दिनु र सरकारी तथा सुरक्षा निकायसँग समन्वय गर्नु सबै कार्य समान रूपमा एकैसाथ गर्नु पर्नेभयो।
स्वभावैले पहिलो प्राथमिकता जीवनको खोजी रह्यो। बाढी आएकै क्षणदेखि कम्पनीले विभिन्न तहमा प्रतिकार्य संयन्त्र सक्रिय बनायो। धुञ्चेमा रहेका कम्पनीका वरिष्ठ प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय सुरु गरे। काठमाडौंस्थित कम्पनी व्यवस्थापनको विशेष टोली विहान ११ बजे आवश्यक समन्वयका लागि बट्टारतर्फ प्रस्थान गर्यो। कम्पनीको व्यवस्थापन समूह काठमाडौंमा गर्नु पर्ने समन्वय कार्यमा जुट्यो।

एनडब्ल्यूईडीसीको कार्यालयमा अभिलेख गरिएको दैनिक विवरणका आधारमा खोजी र उद्धारका मुख्य गतिविधिलाई यहाँ सरसर्ती वर्णन गरिएको छ। (खोजी र उद्धारका मुख्य गतिविधि बुझ्न यहाँ थिच्नुहोस्।)
पहिलो दिन बाढीबाट जोगिएर जंगलको बाटो हुँदै कालिकास्थान गाउँ पालिकाको ग्राङ्गसम्म आइपुगेका तीन जना कर्मचारीलाई कम्पनीको टोलीले उद्धार गर्यो। एक जनालाई परिवारसँग पुनर्मिलन गरियो भने दुई जनालाई हेलिकप्टरमार्फत बट्टार पुर्याइयो। केही व्यक्तिको उद्धारको यो क्षणसँगै अर्को कठोर यथार्थ सामुन्नेमा थियो, धेरै जना अझै सम्पर्कविहीन थिए।
पहिलो दिनदेखि नै सम्पर्कविहीन व्यक्तिका परिवारसँग सम्पर्क प्रयास सुरु भयो। खोजी कहाँ भइरहेको छ, के प्रगति भइरहेको छ र कस्ता कठिनाइ छन् भन्ने जानकारी खोजी तथा उद्धार टोलीका लागि मात्र होइन, आफन्तजनका लागि झन महत्त्वपूर्ण थिए। परिवारसम्म यी जानकारी पुर्याउने काम पनि उद्धार प्रयासकै हिस्सा बन्यो।
भोलिपल्ट कम्पनीको टोलीले आयोजनाका विभिन्न साइटको हवाई निरीक्षण गर्यो। यसको मुख्य उद्धेश्य बाढीले पुर्याएको क्षति र सम्भावित खोजीका क्षेत्रबारे प्रारम्भिक जानकारी प्राप्त गर्नु थियो।
सम्पर्क विच्छेद र पहुँचविहीन भूगोलमा खोजी तथा उद्धार नै आपतकालीन कार्य थियो। बाढीपछि आयोजनाका धेरै क्षेत्रमा पुग्न नै ठूलो चुनौती थियो। कतिपय सडक र पहुँचमार्ग अवरुद्ध थिए। जंगल, लेदो, भग्नावशेष र नदीको तीव्र बहावका कारण पैदल हिँडेर पनि सबै स्थानमा पुग्न सम्भव थिएन।
भदौ १३ गते स्थानीयसहित नौ सदस्यीय टोली गठन गरी कालिकास्थान गाउँपालिकाको ग्राङ्गदेखि मैलुङसम्मको जंगल क्षेत्रमा खोजी तथा उद्धार कार्य सुरु भयो। मैलुङ क्षेत्रमा एउटा शव परबाट देखिएको थियो, तर सबैतिर लेदोको दलदलका कारण उद्धार टोली शव भएको ठाउँसम्म पुग्न सकेन।
पैदल पहुँच जटिल भएपछि खोजीको दायरा बढाएर ड्रोन प्रविधिको सहायता लिने विकल्प खोजियो। ग्राङ्गबाट ड्रोनमार्फत सर्वेक्षण सुरु भयो। जलविद्युत आयोजनाको हेडवक्र्सको दायाँ किनारा, डाँडागाउँ र ठूलो हाक्कु क्षेत्रमा पनि ड्रोन परिचालन गरियो।
हवाई पहुँच सम्भव भएका ठाउँमा हेलिकप्टरबाट जनशक्ति र उपकरण पुर्याउने कार्य भए। नेपाली सेना, गृह मन्त्रालय, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सम्बन्धित निकायसँगको समन्वयपछि खोजी तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्ने प्रबन्ध मिलाइयो।

तर खोजी तथा उद्धारका जटिलता यति मात्र थिएनन्। उपकरणका साथै विशेष टोलीहरू घटना स्थलमा पुग्नु अर्को जरुरी कदम बन्यो। आवश्यकता अनुसार विभिन्न विशेषज्ञ टोली र सुरक्षा निकाय परिचालित हुँदै गए। नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनको टोलीले एडिट–१ र डिस्यान्डर क्षेत्रमा खोजी सुरु गर्यो। नेपाली सेना र चिनियाँ टोलीले हेडवक्र्स क्षेत्रमा संयुक्त रूपमा खोजी र उद्धार अघि बढाए।
कुकुरसहितको खोजी तथा उद्धार टोलीले सल्लेटार, मैलुङ तथा अन्य सम्भावित क्षेत्रमा खोजी प्रयास जारी राख्यो। नवौं दिनमा सल्लेटार क्षेत्रमा फेला परेका छवटा शवको पहिचान गरी नेपाली सेनामार्फत बट्टार पुर्याइयो।
यसैगरी एडिट–३ को सुरुङको माथिल्लो भागबाट एउटा शव निकालियो। सल्लेटार र भाँगे झरनाबीचको क्षेत्रमा पनि एउटा शव फेला पारेर पहिचान गरियो। त्रिशूली नदीको बायाँ किनारमा पर्ने हाक्कुबेंशीको फूलबारीमा फेला परेको शवको पहिचान गरी नेपाल प्रहरीलाई जानकारी गराइयो।
यी प्रत्येक पहिचान एउटा खोजीको नतिजा मात्र थिएनन्। हरेक पहिचानले एउटा परिवारलाई लामो अन्योलबाट बाहिर ल्याउने बाटो खोल्थ्यो।
सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो। सुरुङ तथा चेम्बरहरू लेदो, ढुंगा र भग्नावशेषले भरिएका थिए।
पानी र लेदो निकाल्दै, अवरोध हटाउँदै र जोखिमको मूल्याङ्कन गर्दै खोजी तथा उद्धार टोली भित्र पस्ने प्रयास गरिरहेको थियो। नेपाली सेनाको टोलीले भदौ १७ गते डिस्यान्डर बेसिनबाट हेडरेस सुरुङभित्र करिब १५५ मिटरसम्म खोजी अघि बढायो।

त्यसबीच भदौ २० गते एउटा महत्वपूर्ण सफलता हात लाग्यो। डिस्यान्डर चेम्बर–१ देखि चेम्बर–२ सम्म खोजी विस्तार गर्ने क्रममा सम्पर्क विच्छेद भएको ११ दिनपछि एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफलता मिल्यो।
यो घटनाले कठिन परिस्थितिमा पनि जीवनको सम्भावना बाँकी रहन्छ भन्ने आशासहित खोजीमा संलग्न सबैलाई थप ऊर्जा थप्यो।
खोजी र उद्धार इच्छाशक्तिले मात्र सम्भव हुँदैन। यस कार्यलाई सहज बनाउन उपकरण जुटाउनु त्यत्तिकै अनिवार्य शर्त थियो। खोजी अगाडि बढाउन दक्ष जनशक्तिसँगै विशेष उपकरणहरूको आवश्यकता थियो। त्यसका लागि एनडब्ल्यूईडीसीले सरकार, नेपाली सेना र सम्बन्धित निकायसँग अथक समन्वय गरिरह्यो।
कम्पनीका तर्फबाट मिनी एक्साभेटर, ज्याक ह्यामर, ह्यान्ड रक ड्रिल, जेनेरेटर, पानी पम्प, कम्प्रेसर, पाइप तथा होज पाइपलगायतका उपकरण बट्टारमा रहेको उद्धार क्याम्पमा पुर्याउने कार्य भयो। लेदो फाल्ने मड पम्प पनि उपलब्ध गराइयो। डिस्यान्डर क्षेत्रमा पानी फाल्ने लगायत खोजीका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत पुर्याइयो।

उपकरण जुटाउने क्रम जारी रह्यो। भदौ २५ गते एउटा मिनी एक्साभेटर एमआई–१७ हेलिकप्टरमार्फत मैलुङ क्याम्पमा पुर्याउने कार्य भयो। तर सबै स्थानमा हेलिकप्टर अवतरण सम्भव थिएन।
भदौ २६ गते आयोजना स्थल पुगेको टोलीले एडिट–१ को पोर्टल निरीक्षण गर्दा सुरुङभित्र ढुंगा र लेदो भरिएको थियो। मैलुङमा मिनी एक्साभेटरमार्फत उत्खनन सुरु गरियो भने एडिट–३ मा मेसिन परिचालनका लागि मेकानिक र एक्साभेटर अपरेटर पठाउने व्यवस्था मिलाइयो।
भदौ २७ गते एनडब्ल्यूईडीसी, डुसान इर्नबिलिटी (डिइ) र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पिसी) का व्यवस्थापन प्रतिनिधिहरूले बट्टारस्थित नेपाली सेनाका अधिकारीहरूसँग आगामी दिनको सुरुङ उद्धार र समन्वयबारे थप छलफल गरे। एडिट–३ को अपस्ट्रिम क्षेत्रमा रहेका दुइटा एक्साभेटर चलाउन सकिने अवस्थामा रहेको पाइएपछि सुरक्षित ढङ्गले खोजी कार्यमा प्रयोग गर्ने टुङ्गो लाग्यो।
उद्धार अभियानको अर्को अनिवार्य र महत्वपूर्ण पक्ष थियो— प्रभावित परिवारसँग निरन्तर संवाद कायम गर्नु।
सम्पर्कविहीन व्यक्तिका आफन्तसँग नेपाल प्रहरीको समन्वयमा परामर्श तथा संवाद सुरु गरियो। खोजीको प्रगति, चुनौति र सम्भावनाबारे परिवारलाई जानकारी उपलब्ध गराउन थालियो। पहिचान प्रक्रियालाई सहयोग पुर्याउन परिवारका सदस्यहरूको डीएनए नमुना परीक्षणका लागि सम्बन्धित वैज्ञानिक संस्थाको सहयोग लिन सम्झौता गरियो।
कम्पनीका लागि परिवारलाई सूचना दिनु औपचारिक दायित्व मात्र थिएन। अन्यौलपूर्ण अवस्थामा रहेका परिवारका लागि हरेक भरपर्दो सूचना आफैंमा महत्वपूर्ण थियो। कहिलेकाहीँ एउटा सानो प्रगतिले आशा जगाउँथ्यो। कहिलेकाहीँ नयाँ चुनौतिले फेरि प्रतीक्षालाई लम्ब्याउँथ्यो। प्रभावित आफन्तजनसंगको संवाद निरन्तर रह्यो।
विपद्का समयमा खोजी तथा उद्धारको सफलताको मूल मन्त्र भनेकै समन्वयमा आधारित सामूहिक पहल हो।
अकल्पनीय विपदपछिको खोजी अभियान एउटा मात्र संस्था, टोली वा प्रविधिको बुता भित्रको कुरा थिएन। नेपाली सेना, नेपाल प्रहरी, सरकारी निकाय, एनडब्ल्यूईडीसी, डिइ, पिसी, स्थानीय समुदाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीहरू विभिन्न चरणमा जोडिदै गए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, लगानी बोर्ड र स्थानीय प्रशासनसँग अवस्था र आवश्यकताबारे जानकारी आदानप्रदान भयो। थप उपकरण, हेलिकप्टर, विशेषज्ञ जनशक्ति तथा अन्तरसंस्थागत समन्वयका लागि पनि निरन्तर पहल भइरह्यो।

यस अवधिमा खोजी अभियानले थुप्रै चरण पार गरिसकेको छ। पैदल खोजीदेखि ड्रोन सर्वेक्षण, कुकुरसहितको खोजी, हवाई निरीक्षण, सुरुङभित्रको अभियान, पानी तथा लेदोको निकास, भग्नावशेष हटाउने कार्य र भारी उपकरण परिचालनसम्म हरसम्भव उपाय अपनाइएको छ।
भौगोलिक कठिनाइ छ, पानी, लेदो, भग्नावशेष छन् र भौगोलिक पहुँचका चुनौती छन्। यतिहुँदा हुँदै पनि खोजी तथा उद्धारका प्रयास निरन्तर अघि बढिरहेका छन्।
खोजी र उद्धार जारी छ। समन्वय निरन्तर कायम छ। परिवारसम्म यकिन र भरपर्दा सूचना पुर्याउने प्रयास चलिरहेको छ। अर्थात् खोजी तथा उद्धार, समन्वय, सम्पर्क अटुट छ र अटुट रहिरहने छ, किनभने यो कार्य हराइरहेका मानिसहरूको खोजी र उद्धार मात्र होइन, जीवनको सम्भावना खोज्ने अथक प्रयास हो, सम्पर्कविहीन व्यक्तिहरूलाई पर्खिरहेका आफन्तजनहरूको दृढ आशाको खोजी हो।

(विष्ट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको वातावरण हेर्ने, महाप्रबन्धक हुन्।)


