सिरहा– सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र ३ हजार ५ सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन्।
सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन्।
उनले भनिन्, ‘सुत्केरी खोज्दै हामी घर–घर जाने गरेका छौं। घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौं। यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।’
नवराजपुर–३ फूलबरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुने हुँदा उपलब्धिमूलक भएको प्रतिक्रिया दिइन्।नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि निकै खुसी लागेको सुनाइन्।
पोषिलो खानेकुरा किन्न रकम र बच्चाका लागि कपडा लिएर उपाध्यक्ष यादव घरमै पुगेकी थिइन्। स्वास्थ्य चौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिए।
ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ। सोही कारण शिशु मृत्युदर तथा पोषणसम्बन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।



