काठमाडौं – दृश्यपटलमा खासै चम्किएर नआएकी, मिडियाको हेडलाइनमा कमै देखिएकी लक्ष्मी श्रेष्ठ, दर्शकका मनमा भने सधैं गढेर बसिन्- कहिल्यै नबिर्सिने अभिनय र आत्मीयभावले।
दर्जनौं फिल्म, टेलिसिरियल र म्युजिक भिडियोमा उनले जति सहजता र आत्मीयता दिएर काम गरिन्, त्यति नै सहजता र सादगीले दर्शकको मन जितिन्।
काम गर्न सहज, कुरोको चुरो सहजै वुझ्ने भएपछि निर्माताहरु पनि उनलाई लिएर काम गराउन सहज मान्थे।
रियल लाइफको उत्तरार्धमा भने यी पुरानी कलाकार श्रेष्ठले निकै दुःख पाइन्। र, शुक्रवार महाप्रस्थान गरिन्।
उनको निधनपछि नेपालका धेरै फिल्म निर्माता, निर्देशक तथा कलाकारुले दुःख व्यक्त गरेका छन्। उनी निकट कलाकारहरुका अनुसार बिरामी हुनुभन्दा अघिसम्म उनको जीवन निकै राम्रो थियो। जब थला परिन् असाध्यै दुःख पाइन् र सोचेजस्तो कसैको साथ तथा सहयोग पाइनन्।
कलाकार श्रेष्ठ स्तन क्यान्सर रोगबाट पीडित रहेको पारिवारिक स्रोतको भनाइ छ। सोही कारण उनी केही महिनाअघिदेखि ओछ्यानमै थलिएकी थिइन्।
दर्जनौं फिल्म, म्युजिक भिडियोमा काम गरेपनि दर्शकले उनलाई असाध्यै मन पराएको भूमिका भने मेरी बास्सै सिरियलकी ‘अप्सरा आमा’ हो।
उनको अन्तिम ठूलो पर्दा शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’मा झुल्किएको थियो। विभिन्न पर्दामा मुस्कुराउने अनुहार अब कहिल्यै फर्किने छैन। तर, उनका दृश्यहरू, संवादहरू, अनि आँखाभरि ममता बोकेका अभिनय सधैंभरि दर्शकको मनमा जिउँदै रहनेछ।
कलाकार श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येस्टि गरिएको छ।
आज यी पुरानी कलाकार लक्ष्मी श्रेष्ठ शारीरिक रूपमा हामीसँग छैनन्। तर उनले जीवनभर बाँडेका ती हाँसोका झिल्का, ममताका स्पर्श र अभिनयको आत्मा भने नेपाली कला र सिने जगतमा अमर भएर रहनेछ।


