२०८३ कार्तिक ११ गते मङ्गलबार

सैनिक कूटनीतिलाई प्रभावकारी बनाउन अत्यावश्यक छ : आशबहादुर तामाङ [अन्तर्वार्ता]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
aash_bdr_tamang

नेपाली सेनामा करिव ४ दशक सेवा गरेर हालै निवृत्त भएका डा आशबहादुर तामाङ सैन्य कूटनीतिका क्षेत्रमा चासो राख्छन्। १५ बढी देश पुगेर विश्वशान्ति स्थापनाका लागि योगदान गरेका उनी उपरथीसम्मको दर्जाबाट सेवा गरी निवृत्त भएका हुन्।

‘संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको भूमिका’ विषयमा विद्यावारिधि गरेका तामाङ सैनिक कुटनीतिमा राज्यले ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन्। देशको समग्र कूटनीति र सेनिक कूटनीतिका विषयमा केन्द्रित रहेर नेपाल क्लिक्सका लागि सुरेन्द्र सुवेदीले पूर्वउपरथी डा आशबहादुर तामाङसँग गरेको कुराकानीको सम्पादित अंश:

कूटनीति र सैन्य कूटनीतिमा कस्तो सम्बन्ध वा फरक छ?
सामान्य बोलीचालीको भाषामा कूटनीति भन्नाले कुनै कार्य या वार्ता सम्पादन गर्दा ठाडो र खरो शैली प्रयोग नगरी नरम र मिजासिलो भएर काम गर्ने कला हो। दुईपक्षीय या बहुपक्षीय हितका लागि आपसी सुमधुर सम्बन्ध स्थापना, विस्तार तथा समस्याको शान्तिपूर्ण समाधानका लागि प्रभावकारी संवाद गरिन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न कुनै पनि देशले राष्ट्रहितका लागि कूटनीतिको प्रयोग गर्दछ।

सैनिक कूटनीति देशको मूल कूटनीतिको महत्त्वपूर्ण हिस्सा हो। अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक कूटनीतिलाई रक्षा कूटनीतिको मुख्य हिस्सा मान्न सकिन्छ। उपलब्ध सैनिक स्रोतसाधन, रणनीति एवं दक्ष सैनिक कूटनीतिज्ञहरूको प्रयोग गरी राष्ट्रको हितमा कूटनीतिक उद्देश्य हासिल गर्न शान्तिपूर्ण तवरले दुईपक्षीय या बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थापना गर्न, विस्तार गर्न र थप प्रभावकारी बनाउन सैनिक कूटनीतिको प्रयोग भएको पाइन्छ।

देशले आफ्नो सुरक्षा र परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न आफ्नो सुरक्षा फौज अर्थात् सेनामार्फत अन्य देशको सेनासँग कूटनीतिक गतिविधि सञ्चालन गर्दछ। शक्तिशाली राष्ट्र; जस्तै अमेरिका, बेलायत, चीन, भारतसमेतका देशहरूले रक्षा कूटनीतिसमेतको प्रयोग शीतयुद्धकालदेखि नै गर्दै आएको पाइन्छ।

नेपाली सेनामा उपरथी दर्जामा पुगेर अवकाश हुनुभएको तपाईँसँग कूटनीति एवं सैनिक कूटनीतिका क्षेत्रमा कस्तो अनुभव छ?
मैले राजनीतिशास्त्रको अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित विषय ‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना गर्ने कार्यमा नेपाली सेनाको भूमिका (सन् १९५८ देखि २००९)’ विषयमा सन् २०११ मा विद्यावारिधि गरेको छु। साथै तीन वटा युएन मिसन र अमेरिकाको ट्विनटावरमा आतंककारी हमलापछि सन् २००१ मा अमेरिकाको फ्लोरिडास्थित आतंकवादविरुद्ध लड्नका लागि स्थापना गरिएको कोलिसन भिलेजमा सन् २०१२ देखि २ वर्षभन्दा बढी नेपालका तर्फबाट सिनियर नेसनल रिप्रिजेन्टेटिभ (एसएनआर) र युएन सेन्टकममा जे-५ अन्तर्गत कम्बाइन्ड प्लानिङ ग्रुपमा स्ट्राटेजिक अफिसरको रूपमा काम गरेको थिएँ।

अमेरिका, बेलायत, चीन, भारतजस्ता १५ भन्दा बढी देशमा विभिन्न तालिम, सेमिनार, विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यमा खटिएको थिएँ। नेपाली सेनामा करिब ३७ वर्षको कार्यकालमा कमाण्ड, प्रशिक्षक, स्टाफ तथा सुरक्षा जिम्मेवारीमा खटिँदा सैनिक सहचारीजस्तो प्रत्यक्ष सैनिक कूटनीति प्रयोग नभएता पनि सैनिक कूटनीतिसम्बन्धी कार्यमा एक दशकभन्दा बढीको अनुभव हासिल गरेको छु।

उदाहरणका रूपमा युएस सेन्टकमको दुई वर्षे एसएनआरको भूमिका र २०७३ सालमा एक वर्षका लागि लेबनानमा युएनआईएफआईसीको चिफ जेक्यु सिभिल मिलिटरी रिलेसन एवम् नेपालको तर्फबाट खटिएका ८७० जना फौजको सिनियर नेशनल अफिसरको कार्य तथा जिम्मेवारी सैनिक कूटनीतिज्ञसरहकै रूपमा कार्य सम्पादन गरेको थिएँ।

सैनिक कूटनीतिमा नेपाली सेनाको भूमिका कस्तो छ ?
नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारीका साथै युएनमार्फत विश्व शान्ति स्थापना गर्ने, विकास निर्माण गर्ने, आन्तरिक शान्ति सुरक्षा कायम गर्ने, प्रकृति संरक्षणजस्ता महत्वपूर्ण कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाले द्वितीय विश्वयुद्धमा खटिएका नेपाली फौजको आवश्यक समन्वय गर्न सन् १९४५ ताका सैनिक सहचारीको रूपमा नयाँदिल्लीमा सैनिक अधिकृत खटाउन सुरु गरेकोमा हाल ५ वटा मित्रराष्ट्रमा सैनिक सहचारी खटिएका छन्। नेपाली सेनाले सफल कूटनीति सञ्चालन गरी निम्न कार्य सम्पादन गर्दै आएको छ।

क) संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागिता (हाल नम्बर १ )

ख) सैनिक सहचारी

ग) संयुक्त सैनिक अभ्यास (जस्तै सूर्यकिरण शान्ति प्रयास)

घ) सैनिक तालिम तथा सेमिनारमा सहभागिता आदानप्रदान, विपद् व्यवस्थापन र मानवीय सहयोग

ङ) चिफ कन्केभ तथा कमाण्डर्स कन्फ्रेन्स

च) रक्षा तथा सैनिक उच्चस्तरीय भ्रमण

छ) रक्षा प्रविधि सहकार्य र दुई पक्षीय तथा बहुपक्षीय छलफल

ज) संयुक्त राष्ट्रसंघको स्थायी आयोग न्युयोर्कमा सैनिक सल्लाहकार

झ) एनसिसी राष्ट्रिय सेवा दलको युथ एक्सचेन्ज प्रोग्राम

त्यसैगरी २०७२ को भूकम्पबाट पीडितअवस्थामा मित्रराष्ट्र भारतले लगाएको अघोषित नाकाबन्दी खोल्न नेपाली सेनाको सैनिक कूटनीतिले महत्वपूर्ण भूमिका खेलेको विषयमा भनिरहन नपर्ला।

त्यसैगरी नेपालका सरकार प्रमुखको भ्रमण नभइरहेको हालको अवस्थामा समेत नेपाली सेनाका प्रधानसेनापतिको भारत भ्रमणले नेपाली सेनाको सैनिक कूटनीतिको औचित्य र प्रभावकारिता पुष्टि गरेको देखिन्छ।

सैनिक कूटनीतिमा सरकारको दायित्व के हुन्छ?
देशको कूटनीतिकै महत्त्वपूर्ण कुराका हिस्साको रूपमा सैनिक कूटनीति हुने भएकाले रक्ष तथा सुरक्षा फौजलाई अझ सक्षम र प्रभावकारी तथा समयसापेक्ष आधुनिकीकरण गर्नका साथै सैनिक कूटनीतिको रूपमा नेपाली सेनाले गर्दै आएको कार्यलाई प्रभावकारी बनाउन अत्यावश्यक सम्पूर्ण सहयोग तथा समन्वय नेपाल सरकारले गर्नुपर्दछ।

उदाहरणको रूपमा नेपालको परराष्ट्र नीतिलाई कार्यान्वयनमा ल्याउन साथै नेपाललाई संसारमा शान्ति सैनिक खटाउने देश भनेर चिनाउने नेपाली सेनाको सहभागिता प्रभावकारी रूपमा बढाउन स्रोतसाधन सम्पन्न गराई नेपाली सेनाले मात्रै होइन, नेपाल सरकारले त्यसको जिम्मेवारी लिनुपर्दछ।

त्यसैगरी नेपाली सेनाको सहभागिताका आधारमा हेर्ने हो भने युएनमा नेपाली सैनिकको संख्या सबैभन्दा बढी छ। यसमा उच्च तहको जिम्मेवारी दिलाउन थप राजनीतिक लबिङ गर्नुपर्दछ। रुस, फ्रान्सलगायत सरोकार रहेका देशमा स्रोतसाधन सम्पन्न गराई सैनिक सहचारी विस्तार गर्न उपयुक्त देखिन्छ। यसका साथै रक्षासँग सम्बन्धित विषयमा अत्यावश्यक प्रभावकारिता बढाउन थिंकट्यांकको व्यवस्था गर्न आवश्यक छ।

सेना, सरकारबाहेक कूटनीतिक क्षेत्रमा अरु पक्षको के कस्तो भूमिका रहन्छ?
परराष्ट्र मन्त्रालयबाट खटाइने अन्य कूटनीतिज्ञहरूका साथै अन्य सरकारी तथा गैरसरकारी संस्थाले समेत देशको कूटनीतिमा प्रत्यक्षपरोक्ष प्रभाव पार्दछन्। विदेशमा रहने नेपाली डायस्पोरालगायत अवकाशप्राप्त नेपाली सेनाका, अन्य सुरक्षा निकाय र निजामती तहका कर्मचारी साथै अन्य सुरक्षाविदहरूले थिंक ट्यांकहरूको रूपमा आवश्यक छलफल गरी यथोचित राय सुझाव पेस गर्न र राष्ट्रहितलाई प्रवर्द्धन गर्न सक्दछन्। त्यसैले यस प्रकारका विज्ञहरूलाई नेपाली सेनाले समेत सदुपयोग गर्न सक्दछ।

विश्वका अन्य देशको सैनिक कूटनीतिको अवस्था कस्तो छ?
विश्वमा अरू देशमाथि विभिन्न प्रभाव पार्न सक्ने शक्तिराष्ट्रहरूले रक्षा कूटनीतिका साथै सैनिक कूटनीतिको प्रयोग विभिन्न लडाइँ द्वन्द्व तथा असहज अवस्थामा प्रयोग गर्दै आएको पाइन्छ। जुन धेरै हदसम्म प्रभावकारी भएको देखिन्छ। उदाहरणका रूपमा अमेरिकी– चिनियाँ सैनिक र भारतीय-चिनियाँ सैनिकबीच समय-समयमा हुने वार्ता, सम्बन्ध र क्रियाकलापले पुष्टि गरेको छ। द्वन्द्व हुन नदिन, रोक्न तथा समाधान गर्न सैनिक कूटनीति आगामी दिनमा पनि प्रयोग हुने नै छ। शक्तिराष्ट्रहरूले सैनिक-सैनिकबीच मात्र नभई रक्षा कूटनीतिअन्तर्गत रक्षामन्त्री र सचिवस्तरीय विभिन्न भ्रमण र गतिविधिहरूसमेत सञ्चालन गरेको पाइन्छ।

नेपालमा सैनिक कूटनीतिका चुनौतीहरू केके देख्नुहुन्छ?
दक्षिण एसियामा नै सबैभन्दा पुरानो अनुशासित संस्थाको रूपमा रहेको गौरवमय परम्परा बोकेको नेपाली सेना विगतका विभिन्न सैनिक कूटनीतिक अभ्यास केलाउँदा निम्नलिखित चुनौतीहरू देख्दछु।

क) सैनिक कूटनीति एवम् नेपाली सेनाको भूमिकाबारे राजनीतिक तहमा ज्ञान वा चाखको कमी

ख) दक्ष सैनिक कूटनीतिक प्रशिक्षकसहित उत्पादन तथा पर्याप्त स्रोतसाधनक वकमी

ग) सैनिक कूटनीति विस्तार गर्न थप राष्ट्रमा सैनिक सहचारी आवश्यक।

घ) सैनिक कूटनीतिका विभिन्न गतिविधि जस्तै तालिम, सेमिनार, संयुक्त राष्ट्रसंघीय शान्तिसेनामा सहभागिता, विदेशमा नेपाली सैनिक दिसव मनाउन र विभिन्न सामाजिक सांस्कृतिक गतिविधि बढाउन पर्याप्त बजेट स्रोत साधनको अभाव।

सैनिक कूटनीति प्रभावकारी बनाउन यहाँको सुझाव के छ?
माथि उल्लेखित बुँदाहरूमा उल्लेख गरेझैँ मेरा सुझाव यसप्रकार छन्।

क) नेपाली सेनाको भूमिका साथै सैनिक कूटनीतिबारे रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयलगायत राजननीतिक नेतृत्वमा आवश्यक जानकारी एवम् प्रशिक्षणाका साथै मित्रराष्ट्रहरूका सेनाबीच अझ सन्तुलित व्यवहार

ख) संयुक्त राष्ट्रसंघमा शान्तिसेनाको सहाभगिताका लागि थप स्रोतसाधन सम्पन्न बनाई उच्च ओहदा प्राप्त गर्न आवश्यक राजनीतिक पहल

ग) रक्षा कूटनीति एवम् सैनिक कूटतनीति विस्तराको रणनीति एवम् योजना तयार गरी आवश्यक बजेट तथा स्रोत साधन व्यवस्था गर्ने।

घ) सैनिक कूटनीतिमा प्रत्यक्ष या परोक्ष सहभागी हुने अधिकृतहरूलाई आवश्यक ग्रुप अप, सहयोग एवम् समन्वय थप विस्तार गर्ने।

ङ) अवकाशप्राप्त दक्ष सैनिक कूटनीतिज्ञ, सुरक्षाविद्हरूलाई थिंकट्यांक र सहल्लाहकारका रूपमा समुचित प्रयोग गर्ने।

अन्त्यमा केही भन्नु छ?
प्रत्येक नेपाली सैनिक नेपाली नागरिक भएकाले नेपालको राष्ट्रसहित सुरक्षा नीति एवम् परराष्ट्रनीतिलाई सर्वोपरी राखी कार्य सम्पादन गर्दै आएकोमा संकटको घडीमा नेपाली सेनाबाट भएको सैनिक कूटनीतिले नेपालको भूराजनीतिक अवस्था क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति र सैनिक चुनौतीलाई समेत ध्यान दिई सैनिक कूटनीतिज्ञबाट सैनिक कूटनीतिको सञ्चालन गरी प्रभावकारी सफ्ट पावरका रूपमा प्रयोग गर्नु अत्यावश्यक छ।

यसैगरी संयुक्त राष्ट्रसंघीय शान्तिसेना खटाउने राष्ट्रका रूपमा नेपाल पहिलो नम्बरमा रहेको परिप्रेक्ष्यमा प्रत्येक शान्तिसैनिक बुद्धका शान्तिदूत हुन्। उनीहरूलाई नेपालको सैनिक राजदूतका रूपमा लिन सकिन्छ। जसको कारण आज नेपाल सगरमाथा बोकेको र बुद्धको देशका रूपमा मात्र नभई विश्वभर शान्ति सैनिकको देशका रूपमा परिचित हुन पाएको छ। यो हामी सबै सुरक्षाकर्मी र नेपालीको गर्वको विषय हो।

प्रकाशित: २०८२ असार २२ गते आईतबार ०४:३५
प्रतिक्रिया

थप समाचार

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ। हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावना...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना