काठमाडौँ– अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन्। ‘अमेरिका पार्टी’ नामक दल गठन गर्ने उनले घोषणा गरेका हुन्। सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर)मार्फत् मस्कले यो जानकारी दिएका हुन्।
‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको या हुन बाँकी रहेको भन्ने कुरा मस्कले खुलाएका छैनन्।
अमेरिकाको निर्वाचन आयोगले शनिबारसम्म मस्कको नाममा नयाँ दल दर्ता नभएको बताएको छ। अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीलाई चुनौती दिने गरी नयाँ दल बनाउन लागेको मस्कले बताएका छन्। सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए। उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको बताइएको थियो।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौतीसम्बन्धी विभाग (डीओजीई)को प्रमुख पदमा नियुक्त भएका थिए। पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले उक्त पद त्यागेका थिए। उनको विभाग डीओजीईकै सिफारिसका आधारमा युएसएआईडीका कार्यक्रम बन्द भएका थिए। युएसएआईडीको नेपाल कार्यक्रम बन्द हुँदा उसले परिचालन गरेका सयौँ सवारी साधन काठमाडौँ चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन्।
मस्कले उक्त पद त्याग गरेलगत्तै नयाँ राजनीतिक दल खोल्ने सम्भावना रहेको बताएका थिए। अमेरिकाको स्वतन्त्रता दिवस (४ जुलाई)को अवसरमा मस्कले एक्स अकाउन्टमा गरेको पब्लिक सर्वेक्षण अनुसार ६५.४ प्रतिशतले नयाँ पार्टी बनाउन सुझाव दिएका थिए भने ३४.६ प्रतिशतले नयाँ दल आवश्यक नभएको बताएका थिए।
Independence Day is the perfect time to ask if you want independence from the two-party (some would say uniparty) system!
Should we create the America Party?
— Elon Musk (@elonmusk) July 4, 2025
त्यसपछि उनले नयाँ राजनीतिक पार्टी खोल्ने पक्षमा बहुमत आएको भन्दै नयाँ दल खोल्ने घोषणा गरेका थिए। अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारका विषयमा अमेरिकाका दुवै पार्टी (रिपब्लिकन र डेमोक्रेटिक) उस्तै रहेको उनको टिप्पणी छ।
मस्कले ट्रम्पको ‘बिग ब्युटीफुल बिल’को आलोचना गरेका थिए। विधेयकमा मस्कले आलोचना गरेपछि यी दुईबीच मतभेद फराकिलो बनेको थियो।
मस्क र ट्रम्पबीच समकालीन सामाजिक मुद्दाहरूमा समान विचार छ। मस्कले रिपब्लिकन नीतिको एजेन्डाले ऋण बढाउने तर्क गर्दै यसलाई ‘ऋण दासता’ भनेका छन्। मस्कले देशलाई ऋण बढाउन नहुने र अमेरिकी नागरिकले तिरेको कर जथाभावी खर्च गर्न नहुने बताउँदै आएका छन्। त्यसैले उनले दल बनाए अन्य देशलाई दिने अनुदानमा उल्लेख्य कटौतीको वकालत गर्ने अनुमान गरिएको छ।
मस्कले आफूलाई राजनीतिक रूपमा मध्यमार्गी भन्ने गरेका छन्। उनका विचारहरू भने दक्षिणपन्थी बन्दै गएको विश्लेषकहरूको भनाइ छ। प्रविधि क्षेत्रमा काम गर्ने व्यापारिक पृष्ठभूमिका एलन टेक्नो-लिबर्टेरियन (प्रविधिगत स्वतन्त्रता)का पक्षमा देखिन्छन्। वैचारिक रूपमा स्वतन्त्रतावादी-अधिनायकवादी पनि देखिन्छन् उनका क्रियाकलाप। उनलाई कतिपयले भने अति-दक्षिणपन्थी पनि भन्ने गरेका छन्।
अमेरिकी राजनीतिक सन्दर्भमा, मस्कले २००८ देखि २०२० सम्म डेमोक्रेटिक उम्मेदवारहरूलाई समर्थन गर्दै आएका थिए। सन् २०२२ मा उनले रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गरे। सन् २०२४ मा डोनाल्ड ट्रम्पलाई समर्थन मात्र गरेनन्, ठूलो रकम चन्दाका रूपमा पनि लगानी गरे।
मस्कले आफूलाई वाक स्वतन्त्रता पक्षधर पनि बताउने गरेका छन्। तर यसमा उनको आफ्नै व्याख्या पनि आउने गरेको छ।
आधारभूत आम्दानी, कार्बन उत्सर्जनमा कर र एच-१बी भिसालाई उनले समर्थन गर्दै आएका छन्। कोभिडका बेला उनले लकडाउनको अवज्ञा गरेका थिए। लकडाउनलाई उनले ‘फासिस्ट’ भनी टिप्पणी पनि गरेका थिए।
अमेरिकमा अवैध आप्रवासनको दोष अध्यागमन नीतिलाई दिने गरेका मस्कले अमेरिकालाई नाटो र संयुक्त राष्ट्र संघ दुवैबाट फिर्ता हुनुपर्ने धारणा राख्छन्। बेलावेला नश्लवादी, लिङ्गभेदी, यहूदी-विरोधी, गलत सूचना र दुष्प्रचार फैलाउने र गोरा-जातिको अतिसमर्थन गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। एक्सका मालिक मस्कले आलोचकहरूको खरो निन्दा गर्छन्। उनका ट्रान्सजेन्डरका मुद्दाहरू, महिला र जातिसम्बन्धी विचारहरू विवादास्पद बन्ने गरेका छन्। मस्कका प्रवृत्तिहरूको विश्लेषण गर्दा उनको दलले कस्तो नीति अवलम्बन गर्ला भन्ने आकलन गर्न सकिए पनि यस विषयमा आधिकारिक रूपमा कतै पनि प्रष्ट धारणा भने आइसकेको छैन।
संयुक्त राज्य अमेरिकामा दुई दलले ओलोपालो सत्ता चलाउँदै आएका छन्। अमेरिकामा तेस्रो दल गठन गर्ने प्रयासले खासै सफलता पाएको छैन। सन् १९९२ मा स्वतन्त्र उम्मेद्वारका रूपमा राष्ट्रपति पदका लागि दौडेका अर्बपति रस पेरोटले पाँचौं लोकप्रिय मत पाएका थिए। तर उनले कुनै पनि राज्य जित्न सकेनन्। त्यसबेला बिल क्लिन्टनले जितेर राष्ट्रपति बनेका थिए।


