काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान च्याप्टरमा सुभास लामिछाने कुनै परिचय दिइरहनुपर्ने नाम होइन। च्याप्टरको सन्निकट कार्यकालका लागि अध्यक्ष पदका आकांक्षी लामिछाने मौजुदा कार्यसमिति उपाध्यक्ष हुन्। भन्छन्, ‘उपाध्यक्ष भएपछि मेरो दावेदारी स्वभाविक रुपमा रहन्छ। म आफ्नो योजना, एजेण्डा र विश्वासका आधारमा अध्यक्ष पदको उम्मेदवार बन्दैछु।’
त्यसो त नेपालस्थित मूलघर पर्वत भएका युवा व्यवसायी लामिछाने सन् २००९ देखि नै एनआरएनए जापानमा आवद्ध छन्। उपाध्यक्ष हुनुअघि उनी ०२१–०२३ को कार्यकालमा च्याप्टरको प्रवक्ताको जिम्मेवारीमा थिए। ‘एनआरएनएसँग जोडिएदेखि नै मेरो प्रतिवद्ध सक्रियता संस्थाका लागि छ। उम्मेदवार बन्न मेरा लागि यही नै संस्थागत आधार हो’ उनले नेपाल क्लिक्ससँगको कुराकानी भने, ‘म जापान आएदेखिको यो सक्रियताको ग्राफ हेरे हुन्छ, त्यसका आयाम हेरे हुन्छ।’
व्यवसायी लामिछानेले जापानमा रहेका नेपालीहरूको हक, हित, सामाजिक सुरक्षा, सांस्कृतिक पहिचान, संरक्षण र सरकारी सेवामा पहुँच जस्ता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। नेपाली समूदायको आवाज मुखरित गर्ने अनुक्रममा जापानभित्र उनका पक्षमा देखिएको विश्वास र सद्भाव नै एनआरएनए नेतृत्वका लागि एउटा अहम् कडी हो भन्ने उनको ठहर छ। ‘संघको निरन्तरतालाई सुदृढ बनाउने अठोटका साथ म अघि आएको हो। संघका केही प्राथमिकताहरु छन्। केही योजनाहरु छन्। र, केही मेरा प्रतिवद्धताहरु छन्’ उनले सुनाए, ‘नेपाली समूदायका समस्या समाधान गर्ने हकमा कुनै पनि कसर बाँकी नराख्ने अठोट नै मेरो दाबीको नैतिक बल हो।’
जापानमा एनआरएनए मात्र छैन, अनेकन सामाजिक र क्षेत्रीय संस्थाहरु पनि छन्। नेपालसँग सम्बन्ध–साइनो प्रकट गर्ने अनेकन औपचारीक अनौपचारिक संगठनहरु छन्। सुभास ठान्छन्, सबैको एकिकृत पहलका आधारमा जापानवासी नेपालीका समस्या समाधान र सांस्कृतिक पहिचानका विषयहरुमा अझ परिस्कृत भएर काम गर्न सकिन्छ। भन्छन्, ‘यीमध्ये एनआरएनए एउटा अग्रिणी संस्था हो। यो संस्थाप्रतिको विश्वास र भरोसा बढाउँदा मात्र हामीले हाम्रा सुधार र समाधानका योजनाहरु सहज रुपमा कार्यान्वयन गर्न सक्छौं।’
उहाहरणका लागि उनले संघले अगाडि बढाएको एकीकृत नेपाली घरको प्रसङ्ग अघि सार्छन्। ‘जस्तोः मैले एकीकृत नेपाली घर बनाउने विषयलाई प्राथमिकतामा राखेको छु। यसको खास कारण पनि छ। यो कुरा हाम्रो सांस्कृतिक, सामाजिक परिचयसँग जोडिएको छ’, उनी भन्छन्, एकीकृत नेपाली घरका लागि जग्गा किन्न बैना भइसकेको छ। क्राउड फण्डीङ मार्फत् बन्ने उक्त घर नेपाली धार्मिक र साँस्कृति आबश्यकता पुरा गर्ने एकीकृत थलो हुन्छ।’
३ करोड ५० लाख रुपियाँ लाग्ने अनुमान गरिएको यो योजना एउटा ‘सिग्नीफिकेन्ट’ काम हुने उनको भनाइ छ।
जापानमा विभिन्न क्षेत्रमा काम गर्ने हजारौं नेपालीहरु छन्। विद्यार्थीहरु छन्। श्रमिकहरु छन्। साना–ठूला उद्यमीहरु छन्। सुभास स्वयं पनि रेष्टुराँ व्यवसायदेखि इभेन्ट मेनेज्मेन्टसम्म जोडिएका छन्। उनी जापानमा कला–सांस्कृतिक समूहका कार्यक्रम र फिल्म वितरणका लागि ‘सेतु’ बनिरहेका छन्। ‘म सर्भिस सेक्टरसँग मात्र होइन, कतै कतै नेपालीका सांस्कृतिक र सामाजिक उत्पादनका पहलुहरुसँग जोडिएको छु। यस्तो अवस्थामा मैले उद्यमी, श्रमिक र अरु सबैका समस्या र संघर्षलाई अनुभूत गर्न पाएको छु, यसले मलाई समस्याहरुको पहिचान गर्न सहज बनाएको छ’ उनी भन्छन्, ‘जव समस्याहरु पहिचान हुन्छन्, समाधानका लागि पहलको जरुरी हुन्छ। यसमा मैले थप उर्जाशील भएर काम गर्न चाहन्छु।’ त्यसैगरी, जापान सरकारले दिएका सेवासुविधा, कानुन, नीति, नियम लगाएतका विषयलाई बुझाएर नेपाली समाजलाई अगाडी बढाउन अग्रसर रहने उनको भनाइ छ।
जापानस्थित नेपाली समूदायमा मुख्यगरी काम, भाषा र सीपको अभाव भएको बताउने लामिछानेले यसका लागि योजनावद्ध रुपमा काम गर्न सकिनेमा ढुक्क छन्। ‘जापानस्थित नेपाली समुदायमा देखिएका विविध समस्या समाधान गर्न एनथी्र पास गर्नुपर्ने व्यवस्था ल्याउनैपर्ने भएको छ, जसले आधा समस्या समाधान गर्न सक्छ,’ उनले भने।
एनआरएनएले संस्थागत रुपमा यसको नेत्तृवबाट पर्याप्त समयको माग गर्छ। संस्थाको उद्येश्य र चरित्र नै यस्तो रहन्छ। त्यसैले नयाँ कार्यकालका लागि सुभासले आफ्नो तर्फबाट संस्थालाई थप चलायमान बनाउन आफूले कुनै कसर बाँकी नराख्ने दाबी गर्छन्। ‘दृष्टिकोण पनि चाहियो, समय पनि चाहियो र त्यसको ल्याकत पनि राख्ने हुनुपर्यो। अनि बल्ल नेतृत्वले परिवर्तन गर्न सक्छ’, उनी भन्छन्, ‘जापानमा २ लाख ५० हजारको संख्यामा नेपाली युवायुवतीहरु रोजगारी तथा अध्ययनमा छन्। एनआरएनए सदस्यको संख्या भने १८ हजार चार सय मात्र छ। मेरो लक्ष्य कम्तिमा पनि एनआरएनएमा सदस्यको संख्या ५० हजार बनाउने छ।’
एनआरएनए जापानले विगतमा नेपाल महोत्सव, शैक्षिक तथा आप्रवासी सचेतना कार्यक्रम, भूकम्प राहत अभियान लगायतका कामहरू गर्दै जापानस्थित नेपालीहरूलाई संगठित र सशक्त बनाउने प्रयास गर्दै आएको छ। यी सबै पक्षहरुलाई थप सवल बनाउने योजना सुभासले सुनाउँछन्। जापानभर फैलिएका शाखाहरू, सदस्यहरूको बढ्दो संख्यासँगै अबको नेतृत्व थप जिम्मेवार, संवादमुखी र नतिजामूलक हुनुपर्ने आवाजबीच लामिछानेले आफ्नो उम्मेदवारीले स्थायित्व र निरन्तरताको सन्देश दिएको बताउँछन्। भन्छन्, ‘म उम्मेदवार हुनुअघि मैले गर्ने भनेको नेपाली समूदायका सबै साना–ठुला समस्या समाधानका लागि गर्ने पहलको प्रतिवद्धता हो। बाँकी एनआरएनए सदस्यहरु सबै सचेत हुनुहुन्छ।’


