२०८३ कार्तिक १२ गते बुधबार

प्रहरी आएपछि ढुक्कले खेल्छन् बालबालिका, मजाले निदाउँछन् अभिभावक

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार २६
lahan_police

आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना हुँदो हो। एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो। त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो। ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो। त्यसको एक साक्षी हुन्, अस्मिन राउत।

‘त्यो घटना वास्तवमै कहालीलाग्दो थियो। हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुपर्‍यो हाम्रो बस्तीले, ती घटना सम्झिँदा पनि नरमाइलो लाग्छ’, उनले भने। डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय। प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने। लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे। २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो। उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले।

‘हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो। त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत गर्‍यौँ। स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो’, राउतले भने, ‘प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो। त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन। रातमा गहिरो निद्रा सुत्न पाएका छौँ।’

त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नम्बर १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो। त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो। रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो। बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले। महिलाहरू बिहान–साँझ खेतबारी जान थाले। गाउँलेमा पुनः आत्मविश्वास आयो।

डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो। समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो, तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन। वर्षातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो। त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे। त्यसका लागि चन्दा संकलन अभियान सञ्चालन थाले। त्यो अभियान प्रभावकारी बन्दै गयो।

गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे। विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे। सामूहिक प्रयासकै परिणाम स्वरूप निर्माण भयो- पाँचकोठे पक्की प्रहरी भवन। त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे।

सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन। शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ। गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्छिन्, ‘पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नुपर्थ्यो। त्यो दुःख सम्झेर उदेक लाग्छ। अहिले त ढुक्कले बस्न पाइएको छ।’

उनले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे। प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे। ‘धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे। दसैँजस्ता चाडबाडमा छोरा–नातीहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे। हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर,’ अधिकारी विगत सम्झिँदै भन्छिन्, ‘प्रहरी त हाम्रो लागि भगवान्‌जस्तै भएर आएका हुन् बाबु। यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे। अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो।’

लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो। गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ। यही सन्दर्भमा स्थानीयले भन्दै थिए, ‘वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ।’

यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ। कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन्। दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ। भवन निर्माण समितिका अध्यक्षसमेत रहेका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब २५ लाख रुपैयाँ संकलन भएको थियो। गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए। उनले भने, ‘भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो। यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो। त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो।’

भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए। उनले भने, ‘समाजका अगुवाहरूले जग्गादान र चन्दा संकलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ। यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ।’

प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताउँछन्। प्रहरी संगठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हेरेको बताए। ‘समुदायको सहयोगबिना कुनै पनि सुरक्षा प्रणाली पूर्ण हुँदैन, यो त समुदाय र प्रहरीको साझदारी तथा विश्वासमा अडेको हुन्छ। यहाँको उदाहरणले जब समुदाय सक्रिय हुन्छ, तब अपराध पन्छिन्छ र शान्ति दिगो कायम हुन्छ भनेर जबर्जस्त सन्देश दिएको छ।’

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, ‘शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो। यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ।’

प्रकाशित: २०८२ असार २६ गते बिहिबार ११:३१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना