काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाज क्रिकेट टोलीको मुख्य प्रायोजक बन्ने भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो।
सम्झौता कार्यक्रममा बोल्दै श्री मनोज कुमार अग्रवालले काठमाडौं गोर्खाजमार्फत क्रिकेटसँग जोडिन पाएको बताए। ‘वित्तीय पक्षभन्दा पनि महत्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो। खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन्,’ उनको भनाइ थियो।
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वर्ल्डलिंकसँग जोडिन पाउँदा खुशी लागेको बताए। ‘साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ,’ उनको भनाइ छ।
आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक श्री मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।
काठमाडौं गोरखाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याउने विश्वास गरिएको छ, साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्याउनेछ।


