काठमाडौँ- बलिउडका लोकप्रिय निर्देशक मोहित सुरीको नयाँ चलचित्र ‘’सैयारा’’ भोलिबाट विश्वभर प्रदर्शनमा आउँदैछ। रिलिज नहुँदै चलचित्रले दर्शकहरूबाट उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। रिलिजपूर्व नै १८ लाखभन्दा बढी दर्शकले अग्रिम रुपमा टिकट बुकिङ गरिसकेका छन्, जुन भारतीय रुपयाँ ४ करोडभन्दा बढी आम्दानी हो। चलचित्रको माउथ पब्लिसिटी राम्रो देखिए आसिकी-२ को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ। लभ स्टोरी जनराको चलचित्र पारखीहरूका लागि यो फिल्मको प्रदर्शन समय पर्खन गाह्रो भइरहेको छ।
त्यसो त निर्देशक सुरी स्क्रिप्ट र संगीतमा मेहनती निर्देशकका रूपमा परिचित छन्। हालै बलिउडको चर्चित मिडिया पिंकभिल्लासँग उनले भनेका छन्, ‘म गीत तयार नभएसम्म सुटिङ सुरु गर्दिनँ। म गीत तयार नभएसम्म कहिल्यै क्यामेरा खोल्दिनँ।’ यस अडानका कारण, उनका चलचित्रहरू कथामा मात्रै होइन, संगीत र दृश्य माध्यममा पनि उत्तिकै बलिया हुन्छन्। सोही कारण रिलिज अगावै उनले दर्शकको ध्यान तान्न सफल हुन्छन्।
निर्देशक सुरीका अनुसार समग्रमा सार्वजनिक गरेका प्रमोसनल सामाग्री हेर्दा ‘’सैयारा’’ एक संगीतमय आधुनिक प्रेमकथा हो, जसले विशेषगरी युवापुस्तालाई लक्षित गरेको छ। चलचित्रको ट्रेलर, गीत र पोस्टरले पहिले नै दर्शकहरूलाई आकर्षित गरिसकेको छ। बलिउड-पण्डित तरण आदर्शले पोस्ट गरेको पछिल्लो स्टाटस, सञ्चारकर्मी, चलचित्रकर्मी र विश्लेषकका अभिव्यक्ति केलाउँदा र चलचित्रको एडभान्स बुकिङको तथ्यांक विश्लेषण गर्दा यो चलचित्र वर्षकै उत्कृष्टमध्ये एक बन्ने संकेत देखिन्छ।
मोहित सुरीलाई थुप्रै निर्देशकहरूले यसरी नयाँ अनुहार र प्रेमकथामा चलचित्र नबनाउन सुझाव दिएका थिए। तर, उनले आफ्नो कथा यशराज फिल्म्ससँग सेयर गरेपछि कम्पनीले गहिरो रुचि देखाउँदै चलचित्र निर्माणको बाटो खोलेको हो। त्यसो त यो कथामा टि–सिरिजका प्रमुख भूषणकुमार र निर्माता मुकेश भट्टले यो कथालाई ‘आशिकी-३’ का रूपमा बनाउन दबाब दिएका थिए। तर, मोहित सुरीले स्क्रिप्ट नपुगेको भन्दै अस्वीकार गरे र अन्ततः ‘’सैयारा’’ को नाममा चलचित्र अगाडि बढाए।
करिब ४५ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो चलचित्र आजको मितिमा बलिउडका अन्य ठूला बजेटका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्न तयार छ। कुनै पनि चलचित्र सफल हुनुका पछाडि यसको लागतलाई पनि हेरिन्छ। कम लागतमा अनुमान गरेझैं आम्दानी गर्न सफल भयो भने यो चलचित्र सहजै हिट हुनेछ। ‘सैयारा’ कम बजेट भए पनि प्रबल कथा, सशक्त निर्देशन र कर्णप्रिय संगीतले ‘’सैयारा’’ लाई सम्भावित ब्लकबस्टरको सूचीमा दर्ज हुने चलचित्रका रूपमा हेरिएको छ। युट्युबमा सार्वजनिक ट्रेलर र गीतसंगीत तथा तिनमा आएका प्रतिक्रियाले चलचित्र अब्बल बन्ने अनुमान गरिएको छ।


