काठमाडौँ– नेकपा एमालेमा यतिबेला पूर्वराष्ट्रपतिको सक्रियताको विषय प्रमुख एजेन्डा बनेको छ। भण्डारी भेट्न नेपाली कांग्रेसका नेता शेखर कोइराला भंगाल पुगेपछि उनको विषयमा पनि एमाले बैठकमा छलफल हुन थालेको छ।
भदौमा हुने विधान महाधिवेशनको तयारीका लागि भएको सचिवालय कमिटीको बैठक र पोलिटब्युरो बैठकमा यी प्रसंगको प्रवेश पाएका हुन्। बैठकमा सहभागी सदस्यहरूले पक्षविपक्षमा धारणा राखिरहेका छन्।
ओलीपछि शेरबहादुर देउवालाई पाखा लगाएर कांग्रेस नेता शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने रणनीति बनेको कुरा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा उनको पनि चर्चा छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत विद्यालाई राजनीतिमा फर्काउन उद्यत रहेको बुझाइ एमालेमा छ। यी विषयका कारण एमालेको छलफल विधान महाधिवेशनको तयारीभन्दा विद्याको सक्रियताका विषयमा बढी केन्द्रित हुन थालेको बैठकमा सहभागीहरूले बताएका छन्।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रचण्ड, शेखर र विद्या भण्डारीका गतिविधि सत्ता समीकरण बदल्ने दिशामा अघि बढेको बताएका थिए। सिंहले विद्याको चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग भेटघाट र ‘सहयोग माग’ भएको बताएको उल्लेख गर्दै यो विषयमा पार्टीले निर्णय लिनुपर्ने बताएका थिए।
‘वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधीतत्व सल्बलिएका छन्, घुस्न दिनुहुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुनुपर्छ,’ उनले भने।
ओली नेतृत्वको सरकारदेखि रुष्ट बनेका नेता कोइरालाले प्रचण्डसँग भेट्न सिंहलाई पनि लगेका थिए। शेखरले विद्यासँग भेटेपछि कांग्रेस एमाले राजनीतिक वृत्त तरंगित छ।
शेखरसँग प्रचण्ड निवास पुगेका स्वतन्त्र सांसद सिंहले नयाँ समीकरणको तयारी भइरहेको दाबी गरेका थिए। प्रचण्ड, विद्या भण्डारी, माधव नेपाललगायतको सहयोगमा यो सरकार ढाले शेखर प्रधानमन्त्री बन्ने तयारी रहेको दाबी गरेका थिए।
उता एमालेले भने पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नभइसकेको दाबी गरेको छ। शनिबार पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दै नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङमा रहेको बताएका हुन्।
‘अहिले उहाँको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा छ। विधानको धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ,’ उनले भने।
शनिवार सकिएको एमाले पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र एउटै व्यक्ति दुई कार्यकाल नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाउने विधान मस्यौदालाई अनुमोदन गरेको छ। बैठकले विधान मस्यौदालाई केन्द्रीय कमिटीमा पेस गर्ने गरी अनुमोदन गरेको हो ।
‘विधान मस्यौदालाई सर्वसम्मत पारित गरी केन्द्रीय कमिटीमा पेस गर्ने अनुमाति दिएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यसले पार्टीलाई अझै बलियो बनाउने बाटो खोलेको छ।’
अब केन्द्रीय कमिटी अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ समेत गरी २५१ सदस्यीय हुने निश्चित भएको छ। यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा राखिने छ। केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ।
पूर्वराष्ट्रपति भण्डारीले भने एमालेमा दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न र ७० वर्षे उमेरहद कायम राख्नुपर्ने पक्षमा थिइन्। एमालेमा ओलीलाई रोकेर आफू सर्वसम्मत अध्यक्ष बन्ने उनको चाहना थियो। यसअघि नै एमालेको पार्टी सदस्यता नवीकरण गरेर आफू सक्रिय राजनीतिमा होमिसकेको घोषणा गरिसकेकी छिन्। उनले आफूलाई भावी एमाले पार्टी अध्यक्षको आकांक्षीको रुपमा प्रस्तुत गर्न थालिसकेकी छिन्।


