रुपन्देही- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबारदेखि गृहजिल्ला रुपन्देहीमा छन्। नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका मन्त्री पौडेल यसपालि दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएका हुन्।
रुपन्देही-३ मा उपनिर्वाचन पनि हुन लागेकाले त्यसको तयारीमा पनि पौडेल खटिएका छन्। शनिबार मन्त्री पौडेलले बुटवल उपमहानगरपालिका-१५ कर्साघाटमा संघीय सरकारको विशेष आयोजनामा निर्माण हुन लागेको कृषि उपज केन्द्रबारे जानकारी लिन पुगे।
नजिकै स्थानीय युवाहरू क्रिकेट खेलिरहेका थिए। तर गाडीबाट झरेपछि अर्थमन्त्री पौडेलले त्यतैतर्फ लागे। खेलाडीहरू खेलमैदान बनाइदिन माग गरे। पौडेलले पनि क्रिकेट खेल्न चाहना व्यक्त गरे। मन्त्री पौडेललाई रोक्ने कसले? मैदान प्रवेश गरेर ब्याट समाए।
बलिङका लागि प्रदेशका पूर्वमन्त्री तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलाई मैदानमा पठाइयो। श्रेष्ठले दुई बल हाने। पौडेलले समाएको ब्याटले बल भेटेन।
त्यसपछि बलिङमा गए एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई। भट्टराईको पहिलो प्रहार सामान्य बन्यो। दोस्रो बलमा भने मन्त्री पौडेलले चौका प्रहार गरे।
खेलमा सहभागिता जनाएपछि मन्त्री पौडेलले त्यहाँ रहेका स्थानीय खेलाडीहरुसमक्ष केही समय अन्तरक्रिया गरे। पौडेलले कृषि उपज केन्द्र नेपालको नमुना आयोजना भएकाले यसलाई निर्माणका लागि सघाउन र नजिकै रहेको अर्को स्थानमा क्रिकेट स्टेडियम बनाउन आफूले पहल गर्ने बताए।


