काठमाडौँ- भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलगायतका भूमिसमेत राखिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।
उनीहरुले अखण्ड भारतको नक्सा पनि जलाएका छन्। आइतबार उद्घाटन भएको भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित भएको विषयमा नेपालको सरकारी पक्ष मौन छ।
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रतिक्रिया जनाउँदा प्रधानमन्त्रीको भ्रमणमा असर पर्ने भएकाले तत्काल यसमा कुनै प्रतिक्रिया नजनाउने रणनीति लिएको हो। प्रधानमन्त्री प्रचण्डले जेठ १७ गते आजदेखि चारदिने भ्रमणका लागि भारतमा छन्।
नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र पाकिस्तानको तक्षशीलासम्मका क्षेत्रलाई समावेश गरिएको छ। अखण्ड भारतमा भारतवर्षका पुराना राज्य र सहरलाई समावेश गरिएको बताइँदै आएको छ।
भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ- अखण्ड’ भारत भन्दै ट्विट गरेका छन्। बीजेपी सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन्। ‘नयाँ संसद् भवनमा अखण्ड भारत। यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ,’ उनले लेखेका छन्।

















