नयाँदिल्ली- भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको हो।
सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। बिहीबारै दुवै देशका प्रधानमन्त्रीबीच विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। यसपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन्।
प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवाभोज आयोजना गर्ने भएका छन्। यसअघि आजै प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।


