काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरलाई सम्मान गरेका छन्। दुवै खुट्टा गुमाएपनि सफल आरोहण गरेर देशको गौरव बढाएको भन्दै उनलाई कांग्रेसले सम्मान गरेको हो।
धुम्बाराहीस्थित आफ्नै निवासमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर फैलाउन साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई धन्यवाद ज्ञापन गरे।
सभापति देउवाले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताको लागि गौरवको कुरा हो भन्दै यो खुसीलाई आम नेपाली जनताको साथ र हौसला बढाएको बताए।
‘सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र शान बढाउनुभएको छ। भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस् मेरो पार्टी र सम्पूर्ण नेपाली जनताकातर्फबाट हार्दिक बधाई तथा शुभकामना धन्यवाद दिन चाहन्छु,’ सभापति देउवाले भने।
जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गरेका थिए। पूर्वप्रधानमन्त्री देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झण्डा पनि दिएका थिए। आरोही बुढामगरका बुबा तथा आरोहण दलका सदस्यलाई पनि सम्मान गरिएको थियो।
आरोही बुढामगरले बाल्यकालमा गाउँमा छँदा भोगेका दुःख र सङ्घर्षका किस्सा सुनाउँदै आफ्नो सफलताले देशको गौरव र इज्जत बढाएको बताए। आफू स्वतन्त्ररुपमा देशको गौरव बढाउन विभिन्न सामाजिक काम गरेर अघि बढ्न चाहेको उल्लेख गरे।
बुढामगरले विश्व शान्ति प्रवर्द्धन र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने बताए। जवाफमा कांग्रेस सभापति देउवाले जलवायु परिवर्तनबारे आरोही बुढामगर जानकार रहेको र यसलाई अभियानकैरुपमा अघि बढाउन आफ्नो पार्टीले सक्दो साथ र सहयोग गर्ने वचन दिए।
‘सगरमाथाले धेरै राजनीतिक पार्टीमा परिवर्तन ल्याएको छ, निजामती प्रशासनलाई पनि झकझक्याएको छ, मैले १५ वर्ष बृटिस आर्मीमा जागिर खाए,’ उनले भने, ‘जहिले पनि देशका लागि के गर्ने भन्ने आकाङ्क्षा थियो अहिले सगरमाथा चढेर देशको गौरव बढाएको छु। मेरो श्वास रहुञ्जेल देशकै लागि केही गर्ने योजनामा छु।’
आरोही बुढामगरले सगरमाथा आरोहणका क्रममा जलवायु परिवर्तनको प्रभाव परिरहेको देखेको भन्दै विश्व तापमान र जलवायु परिवर्तनको क्षेत्रमा सक्रिय भएर काम गर्न चाहेको उल्लेख गरे। घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका छन्।








