काठमाडौँ – अन्ततः नेपाल ओलम्पिक कमिटी अन्तर्राष्ट्रिय प्रतिबन्धतर्फ अग्रसर हुने जोखिम बढेको छ।
आधिकारिक मानिएको नेपाल ओलम्पिक कमिटीको अध्यक्ष बनेका जीवनराम श्रेष्ठलाई बाइपास गर्दै २३ संघहरुले पूर्व ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधानको अध्यक्षतामा तदर्थ समिति गठन गरेपछि ओलम्पिक विवाद झन् बल्झिएको हो।
मंगलबार ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको प्रवक्ता समिमिया अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ओलम्पिक कमिटी नेतृत्वविहीन रहेको भन्दै तदर्थ समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘खेलाडीहरूको खेल्न पाउने अधिकार र भविष्यलाई सुनिश्चित गर्न हाल नेतृत्वविहीन अवस्थामा रहेको नेपाल ओलम्पिक कमिटिभित्र उत्पन्न समस्याहरूको दिगो समाधान गरी, नेपालको ओलम्पिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाई राष्ट्रिय खेल संघ तथा महासंघहरूको अन्तर्राष्ट्रिय क्रियाकलापहरूलाई निरन्तरता दिन २३ वटा खेल संघहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले ९ सदस्यीय तदर्थ समिति घोषणा गरेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएसँगै समितिले आजकै मितिदेखि आफ्नो कार्य सुरू गर्ने र समितिलाई चलायमान र नतिजामूखी पार्नका लागि सभाद्वारा एक कार्यादेशसमेत जारी गरेको जनाएको छ।



