काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्र विज्ञ डा.राजन भटट्राईले हालै लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमती गरेकोप्रति आपत्ती जनाएका छन्।
सामाजिक सञ्जालमा आज बिहान भटट्राईले नेपाली र अंग्रेजी दुवै भाषामार्फत धारणा सार्वजनिक गर्दै नेपालको भूभागका मामिलामा नेपालको सहमती बेगर नै गरिने सहमती नेपाललाई मान्य नहुने बताएका हुन्। यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ संकेत गर्दै उनले लेखेका छन् ‘यो सार्वभौम सच्चाई हो।’
‘नेपालको भूभागका मामिला नेपालको सहमती बेगर गरिने सहमती वा सम्झौता नेपाललाई मान्य हुन सक्दैन। यो सार्वभौम सच्चाई हो ’ भट्टराईले भनेका छन्।
चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमती गरेका थिए । यस विषयमा हिजो परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको थियो। मन्त्रालयले यस विषयमा थप स्पष्ट पार्दै भनेको छ ‘नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।’


