काठमाडौँ- सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनविरुद्धमा निजी विद्यालयका सञ्चालक मात्र नभएर शिक्षक र कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिबाट पारित गरिएका केही बुँदाहरुमा असहमति जनाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
शुक्रवार निजी विद्यालयका सञ्चालकले स्कुल बस लिएर चक्रपथमा विरोध प्रदर्शन गरेका हुन्। बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा ऐन पारित गरेको हो। निजी विद्यालयहरुको साझा संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा आन्दोलन थालिसकेका छन्।
समितिबाट पारित विधेयकमा निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाइने उल्लेख छ। यो बुँदामा प्याब्सन र एनप्याब्सनले विरोध गरेका हुन्। निजी विद्यालयले स्कुले सवारी साधन सडकमै ल्याएर आन्दोलनमा उत्रिएका हुन्।
निजी विद्यालयले बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका थिए। साथै प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन्।
काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमी चक्रपथ वरिपरि कालो ब्यानरसहित परिक्रमा गर्ने बताइएको छ। दिउँसो माइतीघर मण्डलामा भेला भई सङ्घीय संसद् घेराउ गर्ने कार्यक्रम प्याब्सनले राखेको छ।
८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा उनीहरूको छ।
विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


