काठमाडौँ- गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकले आइतावार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो।
प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ। आव २०८०/८१ मा चालु खाता रु २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो।
गत आवमा शोधनान्तर स्थिति रु ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ। आव २०८०/८१ मा शोधनान्तर स्थिति रु ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा थियो।
गत आवमा खुद पुँजीगत ट्रान्सफर रु ९ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
गत आवमा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहेको अनुमान छ। जसमध्ये कृषि क्षेत्रको वृद्धि ३.२८, उद्योग क्षेत्रको ४.५३ र सेवा क्षेत्रको वृद्धि ४.२१ प्रतिशत रहेको अनुमान छ।
गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ .१६, १२.८३ र ६२.०१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको ४.५५ प्रतिशत रहेको छ।
कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ र ३६ प्रतिशत रहेको छ।
गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्धि भई तीन हजार ५९१ मेगावाट पुगेको छ। जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ। त्यस्तै, कूल पर्यटक आगमन एक . सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.६६ प्रतिशतले अवमूल्यन भएको छ।


