काठमाडौँ- दलभित्र समूहगत रुपमा अलिक टाढिएको भनिएका नेपाली कांग्रेसको इतर समूह नेतृत्व गर्दै आएका डा शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको सम्बन्ध फेरि एकपटक चर्चामा देखियो।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आसन्न अधिवेशनमा उनीहरु एकै कित्तामा उभिएपछि राजनीतिक वृत्तमा शेखर–गगनको सम्बन्धको परिचर्चा सुरु भएको हो।
‘सिडेन चुनावले यी दुई नेताहरुको परिआएको खण्डमा एक ठाउँमा उभिन सक्छन् भन्ने देखाएको छ। यद्यपि उहाँहरुबीच औपचारिक रुपमा पार्टी अधिवेशनबारे समूहगत रणनीतिमा कुराकानी भने भएजस्तो लाग्दैन’, गगन पक्षीय एक नेताले भने, ‘सिडेन चुनावको अर्थ भने छ।’
भदौ १४ गते हुने सिडेनको अधिवेशनमा शेखर-गगन मिलेपछि संस्थापन पक्ष एक्लै भएको छ। कांग्रेसमा भएका वा देखिएका तीन गुटमध्ये दुई गुट मिलेपछि संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवामाथि चुनौती देखिएको छ।
सिडेनको नयाँ नेतृत्वका लागि अध्यक्षमा रविभुषण झा र धनेन्द्र केसीबीच प्रतिस्पर्धा हुने भएको हो। यी अध्यक्षका दाबेदारहरु आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका छन्।
भदौ १४ गते हुने सिडेनको अधिवेशनमा शेखर-गगन मिलेपछि संस्थापन पक्ष एक्लै भएको छ।
रविभुषण सभापति शेरबहादुर देउवानिकट र धनेन्द्र डा शेखर कोइराला अनि प्रदीप पौडेलनिकट मानिन्छन्। धनेन्द्रको प्यानलबाट महासचिवमा भूपेन्द्र श्रेष्ठ छन्। भूपेन्द्र महामन्त्री गगन थापानिकट हुन्।
कांग्रेसको आगामी महाधिवेशनमा युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल एक भएर अघि बढ्ने आँकलन भइरहेको समयमा सिडेनको निर्वाचनमा यो दृष्य देख्न लागिएको छ।
सिडेनका अधिवेशनमा विभुषण प्यानलबाट महासचिवमा सुदर्शन शर्मा उम्मेदवार बनेका छन्। उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका छन्। शर्मा उपप्रधानमन्त्री प्रकाशमान सिंहनिकट हुन्।
रविभुषणलाई सिडेका पूर्वअध्यक्ष उमेश थानीलगायतको समर्थन छ भने धनेन्द्रलाई सिडेनका पूर्वअध्यक्षहरू ध्रुब थापा, किशोर शाक्य, शंकर पण्डित, लक्ष्मण केसी, हरि दर्लामी, सुवासचन्द्र बरालको समर्थन रहेको छ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति र महामन्त्रीमा एकै समूहबाट निर्वाचन लडेका डा शेखर कोइराला र गगन थापाबीच संवाद र समन्वयको विषय पछिल्ला दिनमा सबैका लागि चासोको विषय हुने गर्छ।
नेपाली कांग्रेसको अनुशासन समितिले १८ नेताहरूमाथि अनुशासनको कारबाहीविरुद्ध दुई नेताको एउटै मत देखिए पनि उनीहरूबीच संवाद टुटेको नेताहरुले बताउँदै आएका थिए।


