नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन्।
पार्टीको प्रदेश सचिवालय बैठकका लागि बिहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन्।
‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा ‘प्रचण्ड’ले भने।
उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए। ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौँ’ उनले भने ।
उनले पार्टीविरुद्ध स्वार्थ समूहहरू सक्रिय भएको उल्लेख पनि गरे।
स्वार्थ समूह भनेको के हो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रूपमा वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरू गर्नुलाई स्वार्थ समूह भनिएको हो।’
प्रभाकर पार्टी उपमहासचिव हुन्। उनले पार्टीभित्र प्रचण्डको विकल्पसमेत खोज्न थालेपछि प्रचण्ड र उनीबीच मदभेद सृजना भएको छ।
केही समयअघि प्रभाकरले शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने भन्दै प्रचण्डमाथि टिप्पणी गरेका थिए।


