काठमाडौँ। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई सरकारले ३२औँ महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका खापुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।
हालका आईजीपी दीपक थापा आगामी भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। थापा अवकाशमा जान लागेपछि सरकारले एक साताअघि नै खापुङलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि भदौ १८ गतेसम्म चीन भ्रमणमा जान लागेकाले भ्रमणअघि नै सरकारले आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त आईजीपी खापुङले आगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका छन्।
२०५१ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा छिरेका खापुङ ३० वर्षे सेवाअवधिका कारण आगामी कात्तिक २७ गते अवकाशमा जानेछन्।


